राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरूङले पार्टी छाडेका छन्।
कमल थापा नेतृत्वको राप्रपा नेपालको कोषाध्यक्ष पदबाट उनले राजीनामा दिएका हुन्।
उनले आज राप्रपा नेपालको केन्द्रीय कार्यालयमा कोषाध्यक्ष र साधारण सदस्य पनि नरहने गरी राजीनामा बुझाएका हुन्।
राजीनामा पत्रमा उनले 'मेरो कसैसँग कुनै गुनासो छैन' भन्ने उल्लेख गरेका छन्।
गुरूङ अध्यक्ष थापाका लामो समयदेखिका सहकर्मी थिए। थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको अध्यक्ष हुँदादेखि नै उनीहरू बीच सम्बन्ध राम्रो थियो।
यस्तै ०३८ सालमा थापा नेपाल युवक संगठन अध्यक्ष हुँदा गुरूङ उपाध्यक्ष रहेका थिए। गुरूङ ०७३ मा आदिवासी जनजाती प्रतिष्ठानका उपाध्यक्षसमेत भएका थिए।
पछिल्लो समय राप्रपा नेपालमा नेताहरूले पार्टी छाड्ने क्रम बढेको छ। एक साताअघि राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेल, केन्द्रीय सदस्यहरू उर्मिला अधिकारी र श्रीधर सुवेदीले पनि पार्टी छाडेका थिए।