सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले जनप्रतिनिधिको दोस्रो कार्यकालको पहिलो निर्णय सार्वजनिक गरेको छ।
स्थानीय तहको दोस्रो निर्वाचनपछि सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकले गरेको निर्णयहरू सार्वजनिक गरिएको हो।
कार्यपालिकाको पहिलो बैठकले तोक आदेशबाट योजना तथा बजेट वितरण गर्ने कार्य रोक्ने निर्णय गरेको छ।
नगरपालिकाका विभिन्न समिति तथा शाखाहरूबाट बजेट बाँडफाँट गर्ने अभ्यासलाई अन्त्य गर्दै कार्यपालिकाबाट योजना तथा कार्यक्रम स्वीकृत गरेर बजेट खर्चमा एकद्वार प्रणाली अपनाउन यो निर्णय गरिएको नगरप्रमुख मोहनमाया भण्डारीले जानकारी दिइन्।
सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन नागरिक सहायता कक्षको व्यवस्था गर्ने, सेवाग्राही विश्रामस्थल बनाउने, गुनासो सुनुवाइ संयन्त्र निर्माणसहित प्रविधिमैत्री सेवामा जोड दिने निर्णय पहिलो कार्यपालिका बैठकले गरेको छ।
गुरूयोजनामा समावेश भएका सार्वजनिक सडकको अधिकार क्षेत्रको लगत कट्टा गरी सहरी नापी प्रक्रियालाई अगाडि बढाउने निर्णय गरिएको छ।
स्वास्थ्य सेवालाई प्रभावकारी बनाई नागरिकमा सामाजिक सुरक्षाको अनुभूति गराउने ज्येष्ठ नागरिक, अति विपन्न, दीर्घरोगीको यथार्थ विवरण लिएर नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने, नगर क्षेत्रका ज्येष्ठ नागरिक तथा गर्भवती महिलाका लागि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय वीरेन्द्रनगरले गरेको छ।
फोहोरमैला व्यवस्थापनका लागि नियमित अनुगमन गर्ने, बिग्रिएका ढल तथा नालाहरूको चाँडो मर्मत गर्ने जीर्ण र खाल्डा भएका सडकहरूको मर्मत गर्ने निर्णय गरिएको छ।
गौशाला निर्माणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र वीरेन्द्रनगरबीच भएको सम्झौता अनुसार भेरी पुल नजिक प्रशान्ति धार्मिक सामुदायिक वनमा पूर्वाधार निर्माण गर्ने, पशु आहारा व्यवस्थापन गरी सडकमा छाडिएका पशुचौपायाको दीगो व्यवस्थापन गर्ने, ती पशुचौपायालाई ट्याग लगाउने, गौशाला सेड निर्माण गर्ने निर्णय पनि पहिलो कार्यपालिका बैठकबाट गरिएको छ।
सार्वजनिक जग्गाको लगत लिई उचित संरक्षण गर्ने, नगरपालिकाको प्रशासनिक भवन निर्माणको कामलाई पुनः सञ्चालन गर्ने, सडकमा अतिक्रमण गरी राखिएको निर्माण सामग्री व्यवस्थापन गर्ने, हावाहुरीले क्षति पुगेका विद्यालयका छाना मर्मत गर्ने निर्णय नगर कार्यपालिकाले गरेको छ।
नगरको शैक्षिकस्तर अभिवृद्धिका लागि ‘स्वेच्छिक शैक्षिक कोष’ स्थापना गर्न कानून बनाउने, भूमिसम्बन्धी समस्या समाधान आयोगको बाँकी कार्य प्रारम्भ गर्ने निर्णय पनि नगर कार्यपालिकाको पहिलो बैठकले गरेको छ।