संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले केही मन्त्रीहरूले निजगढ विमानस्थल बन्छ भनेर भनिरहेको बताएका छन्।
आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन शिलान्यास गर्दै मन्त्री आलेले सरकारले आगामी आर्थिक वर्षका लागि छुट्याएको बजेट पर्याप्त नभएको बताए।
उनले २६ करोड बजेट छुट्याएर अन्तर्राष्ट्रिय विमानस्थल नबन्ने बताएका हुन्। उनले विमानस्थल निर्माणका लागि १ खर्ब २० अर्बको अनुमान गरिएको भन्दै दाँत फुकालेर विमानस्थलको निर्माण गर्न नसकिने बताएका थिए।
‘आज कतिपय मन्त्री साथीहरुले भन्ने गरेका छन्, निजगढ एयरपोर्ट बन्छ भनेको छन्, के दाँत फुकालेर गर्ने? दाँत फुकालेर एयरपोर्ट बन्छ? बजेट दिने बेलामा २६ करोड रुपैयाँ दिने, एक खर्ब २० अर्बको लागत अनुमान छ’, उनले भने, ‘एयरपोर्ट बन्छ भन्नेलाई भन्न चाहन्छु, यस्ता कुरा नगरौँ आजबाट। मधेसी जनता जहिल्यै रैती हुनुपर्ने अवस्था देख्दैछु मैले। मधेसलाई राजधानीसँग जोड्न नचाहने? मधेसमाथि विभिन्न ठाउँबाट हस्तक्षेप भएको छ।’
उनले न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरिरहेको भन्दै न्यायपालिकालाई कार्यपालिकामाथि हस्तक्षेप गर्ने अधिकार कसले दियो भन्दै प्रश्न गरेका थिए।
‘आज न्यायपालिकाले कार्यपालिकमाथि हमला गरेको अवस्था छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा २० औं वर्ष लगाएर मास्टर प्लान तयार भइसकेको छ। ८ हजार ५० हेक्टर जग्गा विमानस्थलको नाममा आइसकेको छ। त्यसको डिपीआर हुने अवस्थामा छ। त्यसको इआइए भइसकेको छ तर न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरेको अवस्था छ’, उनले भने, ‘विमानस्थल कहाँ बनाउने भनेर निर्णय गर्ने नागरिक उड्डयन प्राधिकरणले हो। तर दुर्भाग्य यो अदालतले तोकिराखेको छ। कसले अधिकार दियो?