बझाङमा भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन्।
प्रदेश सभा क्षेत्र नम्वर १ को १ मा भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मुख्यनिर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार मतदान केन्द्रमा खटिएका प्रहरी टोलीले दिएको जानकारी अनुसार ३० हजार बढी जनाले मतदान गरेका हुन्।
८ वटा स्थानीय तह र एक स्थानीय तहको एउटा वडाका ६१ हजार ७ सय ६८ मतदातामध्ये आधाले मात्रै मतदानमा भाग लिएका छन्।
अधिकांश आममानिसहरू लेकमा यार्सागुम्बा खोजी गर्न र रोजगारी तथा पढाइका लागि गाउँबाट बाहिर भएका कारण उपनिर्वाचनमा मतदान गर्नेको संख्या आधा मात्रै पुगेको बताइएको छ।
सबै मतदानस्थलका मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएको जनाइएको हो।
७४ मतदानस्थलका ९३ मतदान केन्द्रमध्ये तीन वटा मतदानस्थलको मतपेटिका हेलिकप्टरमार्फत् ल्याइने भएकाले आइतबार दिउँसोदेखि मतगणना गरिने छ।
‘भोलि बिहान मतपेटिका ल्याउन मौसम हेरेर हेलिकप्टर साइपालमा पठाइन्छ, त्यहाँबाट आएपछि सर्वदलीय बैठक बसेर दिउँसोबाट मतगणना कार्य गरिन्छ,’ प्रमुख निर्वाचन अधिकृत लामिछानेले भने।