इलाममा उत्पादन भएको चिया बिक्रीमा समस्या देखिएपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर समास्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन्।
इलामका चिया व्यवसायीसहित खनालले प्रधानमन्त्री देउवालाई भेटेर चिया बिक्रीमा देखिएको समस्या समाधान गर्न आग्रह गरेका हुन्।
चिया बिक्रीमा देखिएको समस्या समाधानका लागि भारत सरकारसँग कुरा गर्न समेत आफूले भनेको खनालले बताए।
'हाम्रो चियाको गुणस्तरमाथि भारतले प्रश्न उठाएको छ। यो हाम्रोभन्दा पनि उसकै ल्याबको समस्या हो,'खनालले भने,'अर्को कुरा, भारतले अहिलेसम्म चियामा कर लगाएको थिएन। अब ठूलो मात्रामा कर लगाउन खोजेको छ। त्यसैले यसका लागि जि टु जि प्रक्रियाबाटै अघि बढ्नुपर्छ भनेको छु।'
चिया बिक्रीमा देखिएको समस्या समाधान गर्नका आफूले पहल गर्ने आश्वासन देउवाले दिएको समेत खनालले बताए।