राप्रपाकी केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभाकी सांसद रिता माझीले पार्टी छाडेकी छन्।
उनले राप्रपा बाहिरबाट हेर्दा मोटाएजस्तो देखिए पनि भित्रभित्र रोगले सुन्निएको अवस्थाबाट गुज्रिरहेको पनि आरोप लगाएकी छन्।
आइतबार विज्ञप्ति निकालेर रामेछापकी माझीले पार्टी निर्वाचित केन्द्रीय सदस्यसहित राप्रपाको साधारण सदस्यबाट पनि राजीनामा दिएको बताएकी छन्।
‘भावना शुन्य, विचारहीन राप्रपामा बसिरहन आत्माले स्वीकार नगरेका कारण राप्रपा साधारण सदस्य पनि नरहने गरी राजीनामा दिएको छु,’ विज्ञप्तिमा उनले भनेकी छन्।
उनले राप्रपामा साँघुरो सोच र व्यवहार, अहंकार, कुण्ठा र पूर्वाग्रहबाट प्रेरित भावनाबाट नेतृत्व अघि बढ्न खोजेकोले कार्यकर्ताले स्वाभाविक रूपमा नलिएको पनि बताएकी छन्।