किशोर थापाले विवेकशील साझा पार्टीबाट राजीनामा दिएका छन्। पार्टीका केन्द्रीय समिति सदस्य रहेका थापाले असोज ४ गते राजीनामा दिएका हुन्। उनको राजीनामा पत्र बुधबार मात्र सार्वजनिक भएको हो।
विगत पाँच वर्षदेखि विवेकशील साझामा आवद्ध उनले पार्टी अध्यक्षलाई राजीनामा पत्र लेखेका छन्।
नेपाल सरकारका पूर्वसचिव थापा २०७४ सालको चुनावमा काठमाडौं महानगरपालिकाबाट साझा पार्टीका तर्फबाट मेयर उम्मेदवार थिए।
पत्रमा थापाले लेखेका छन्-
'श्रीमान अध्यक्ष ज्यू,
विवेकशील साझा पार्टी।
विषय - राजीनामा बारे।
म विगत ५ वर्षदेखि तत्कालीन साझा पार्टी र विवेकशील साझा पार्टीमा आबद्ध हुँदै आएकोमा आजका मितिदेखि लागू हुने गरी विवेकशील साझा पार्टीको केन्द्रीय समिति सदस्य र साधारण सदस्यबाट राजीनामा पेस गरेको छु।
आगामी दिनमा पार्टी अस्तित्वमा रहेसम्म यसलाई मेरो समर्थन, सद्भाव र सहयोग भने कायमै राख्ने छु।
पार्टीको उन्नति र उत्तरोत्तर प्रगतिको कामना गर्दछु।'