नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच दलीय गठबन्धनको सरकार निर्माणका लागि प्रधानमन्त्रीको पहिलो कार्यकाल बाधक नबन्ने दाबी गरेका छन्।
सेतोपाटीसँग कुरा गर्दै मन्त्री कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमाभित्रै पाँच दलीय गठबन्धनको नेतृत्वमा सरकार बन्ने दाबी गरे।
'आइतबारसम्म हामी अरूलाई पनि ल्याएर सत्ता गठबन्धनभित्रैबाट सरकार निर्माण गर्छौ। निर्धारित समयभित्रमा सरकार बन्ने कुरामा मलाई कुनै शंका छैन,' कार्कीले भने।
आलोपालो नेतृत्व गर्दा को पहिले प्रधानमन्त्री हुन्छ भन्ने प्रश्नमा कार्कीले भने, ‘अहिले गठबन्धनमा रहेका सबै दलको प्राथामिकता भनेको स्थिरता, विकास र समृद्धि हो। को पहिले प्रधानमन्त्री हुन्छ भन्ने विषय सबैका लागि गौण हो। पहिलो कार्यकालको विषय गठबन्धन सरकार निर्माणका लागि बाधक बन्दैन।’
नयाँ सरकार गठन र शक्ति बाँडफाँटका लागि कांग्रेस, माओवादी र एकीकृत समाजवादीले शुक्रबार पनि छलफल गर्दैछन्। छलफल बालुवाटामा अपरान्ह चार बजे हुनेछ।