नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले स्वर्णिम वाग्लेको विद्रोहलाई गम्भीर रुपमा लिनुपर्ने बताएका छन्।
आज ट्वीट गर्दै भट्टराईले डा. वाग्लेको राजनीतिक विद्रोह ठिक कि बेठिक भन्ने कुरा मतदाताले छिट्टै फैसला गर्ने पनि बताए। तर उनको विद्रोहलाई हल्काफुल्का रुपमा पन्छाउन उचित नहुने डा. भट्टराई बताउँछन्।
‘स्वर्णिम वाग्लेको भद्र राजनीतिक विद्रोह कति ठिक भन्ने कुरा मतदाताले छिट्टै फैसला गर्ने नै छन्। तर यसलाई यत्तिकै हल्काफुल्का रुपमा पन्छाउनु उचित हुनेछैन,’ भट्टराईले लेखेका छन्, ‘देशको अहिलेको चौतर्फी गम्भीर संकटको समाधान पुरानै घिसिपिटी तरिकाले हुनेवाला छैन।अतः वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लिऊॅ।’
वाग्लेले बिहीबार नेपाली कांग्रेस परित्याग गरेको औपचारिक घोषणा गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ–१ बाट उपनिर्वाचन लड्न टिकट दिने भएपछि डा. वाग्लेले कांग्रेस छाडेका हुन्।
पार्टी छाड्दै गर्दा वाग्लेले कांग्रेस दाई–भाउजु, साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा रहेको आरोप लगाएका थिए।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९, १२:०२:००