नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मुलुकको हवाई क्षेत्रमा पछिल्ला दिनहरूमा गम्भीर समस्याहरू देखा परेको उल्लेख गर्दै त्यसको दीगो समाधान खोज्न सरकारसँग माग गर्नु भएको हो। कुनै जहाजको पाङग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरू अलपत्र बन्ने स्थिति पछिल्लो समय देखा परेको उल्लेख गर्दै सांसद पौडेलले सो समस्यालाई गम्भीरतापूर्वक लिन पनि सरकारलाई सचेत गराए।
उनले व्यवस्थापकीय पक्षमा चुक्दा नेपालको हवाई क्षेत्रमा बढी दुर्घटना हुने गरेको उल्लेख गर्दै त्यसलाई किन गम्भीरतापूर्वक नलिएको भनी सरकारलाई प्रश्नसमेत गरे।
हवाई सुरक्षाको विषयलाई हरेक मुलुकले उच्च प्राथमिकता राख्ने गरे पनि नेपाल सरकार र सम्बन्धित निकाय त्यस मामिलामा बेखबरजस्तै बन्नु दु:खद रहेको पनि उनले बताए।
‘पछिल्लो समय हवाई क्षेत्रमा अत्यन्तै गम्भीर त्रुटीहरू देखिएका छन्। कुनै जहाजको पाङग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरू अलपत्र पर्ने स्थिति बनेको छ,’ सांसद पौडेलले भने,‘हिजो मात्रै नेपाल वायु सेवा निगमको विमान दुबईबाट काठमाडौं उड्नै लाग्दा पाइलटलाई पखाला चलेपछि ५४३ यात्रु अलपत्र परे।’
सांसद पौडेलले सरकारले मुलुकको हवाई क्षेत्रको गरिमा थप गुम्न नदिने गरी उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९, १४:३३:३८