पत्रकारद्वय रूद्र खड्का र अर्जुन ओली बारबरा एडम्स खोजी पत्रकारिता सम्मानबाट पुरस्कृत हुने भएका छन्।
सिक्टा सिँचाइ आयोजनामा भएको अनियमितता सम्बन्धी खोजी रिपोर्टका लागि पत्रकारद्वयलाई संयुक्त रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरिए बारबरा फाउन्डेसनले जनाएको छ।
यो सम्मानको राशि १ लाख १ रुपैयाँ रहेको छ।
यसैगरी, फाउन्डेसनले निर्णायक समितिको सिफारिस बमोजिम छनोटमा परेका उत्कृष्ट ५ रिपोर्टमध्ये संसद् सचिवालयमा भएको बेथिति र अनियमितता सम्बन्धी रिपोर्टका लागि पत्रकार मकर श्रेष्ठलाई प्रोत्साहन सम्मान प्रदान गर्ने भएको छ। उक्त सम्मानको राशि २५ हजार १ रुपैयाँ रहेको फाउन्डेसनले जनाएको छ।
उक्त सम्मान आगामी २०७६ वैशाख १३ गते शुक्रबार नेपाल पर्यटन बोर्डको सभाकक्षमा बारबरा एडम्सको जन्मजयन्तीका अवसरमा आयोजित विशेष समारोहमा प्रदेश नम्बर ३ की प्रमुख माननीय अनुराधा कोइरालाज्यूका हातबाट प्रदान गरिनेछ।