स्थानीय सरकारहरूको वार्षिक बजेट सार्वजनिक हुने क्रममा छ। यही क्रममा कसैले सामान्य काममा बजेट छुट्ट्याएका छन् भने कसैले ‘अनौठा’ काममा करौडौं विनियोजन गरेका छन्।
केही साताअघि मात्रै तनहुँको व्यास नगरपालिकाले १०८ फिट अग्लो वेदव्यासको मूर्ति बनाउने योजना सार्वजनिक गर्यो। सबै कामका लागि झन्डै ६८ करोड बजेट छ।
यस्तै ‘मूर्ति मोह’ले मोरङको सुन्दरहरैंचा नगरपालिकालाई आकर्षित गरेको छ। सुन्दरहरैंचाको योजना भने अरूको जस्तो सानोतिनो छैन। उसले संसारलाई नै टक्कर दिने गरी गाईको मूर्ति बनाउन बजेट छुट्टाएको छ। संसारकै अग्लो गाईको मूर्ति बनाउने योजनालाई नगरपालिकाले गौरवको योजनाका रुपमा कार्यान्वयनमा ल्याउँदैछ।
गत आर्थिक वर्ष २०७५/०७६ कै नगरसभाबाट गाईको मूर्ति बनाउन नगरपालिकाले ९९ लाख बजेट छुट्याएको थियो। अहिले त्यो बजेट कार्यान्वयन चरणमा छ। नगरपालिकाका अनुसार झन्डै एक करोड बजेटले गाईको सिंगो मूर्ति बन्ने होइन। यति पैसाले गाईको खुरसम्म बन्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले जानकारी दिए।
उनका अनुसार सिंगो गाईको मूर्ति बनाइसक्न करिब तीन करोड लागत लाग्छ। थप बजेट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आउनेमा आशावादी रहेको नगरपालिकाका सव-ईन्जिनियर अम्बिकाप्रसाद गुरागाईंले जानकारी दिए।
‘गाईको मूर्ति कति अग्लो बनाउने भन्ने टुंगो भइसकेको छैन। अहिलेसम्मको योजना ४१ फिट अग्लो बनाउने हो। आधारसहितको लम्बाइ र चौडाइ करिब १५५ फिट हुन्छ,’ गुरागाईंले भने, ‘एउटा कन्सल्टेन्सीले खुरसम्मको डिजाइन दिएको छ। थप्न पर्ने पनि हुनसक्छ।’
खुरमाथिको भाग डिजाइनै बाँकी रहेको उनले जानकारी दिए। ‘अहिले डिजाइन गरिएको खुरमाथि कति अग्लो मूर्ति अड्याउन सकिन्छ भन्ने टुंगो लगाउन अर्को छलफल गर्नुपर्छ,' गुरागाईंले भने।
नगरपालिकाको हालको योजनाअनुसार सरसर्ती हेर्दा पनि ४१ फिटे गाईको मूर्ति संसारकै अग्लोमध्येमा पर्नेछ। मूर्ति शिलान्यास संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव दिनेशचन्द्र थपलियाले गत भदौमा गरेका थिए।
सुन्दरहरैंचाले यो गाईको मूर्ति कुनै चौबाटो वा चोकमा बनाउन लागेको होइन। वडा नम्बर ५ स्थित राधेश्याम सेवा ट्रस्ट नजिकै वृन्दावनको पाँच विघा सरकारी जग्गामा बनाइँदैछ। मूर्ति बन्दै गरेको क्षेत्र पूर्व-पश्चिम राजमार्गबाट डेढ किलोमिटर उत्तर छ। बूढीखोला पूर्व बाँसबारीबाट उत्तर डेढ किलोमिटर हिँडेपछि मूर्ति निर्माण क्षेत्र पुगिन्छ।
मूर्ति बन्ने भएपछि कच्ची रहेको बाँसबारी उत्तरको डेढ किलोमिटर सडक कालोपत्रे पनि हुने भएको छ। कालोपत्रे नहुँदा वर्षौंसम्म त्यहाँका जनताले सास्ती भोगिरहेका छन्। टिपरको आउजाउ बढी छ। धूलोको हैरान उस्तै।
तर, निर्माण क्षेत्रउत्तरको बाटो भने कालोपत्रे गरिने छैन। गत वर्ष साउनमा बुढीखोलामा आएको बाढीले कटान तीव्र पारेका कारण गौशाला जोखिमयुक्त थियो। गौशालालाई तटबन्ध निर्माण गरी दीर्घकालीन सुरक्षा दिने र त्यहीँ धार्मिक क्षेत्र बनाउने नगरको योजना थियो।
यो मूर्ति बनाउन नगरपालिकासहित स्थानीय उपभोक्ता समितिले पनि बजेट खर्च गर्नुपर्नेछ।
‘कुल लागतको १० प्रतिशत रकम उपभोक्ता समितिले जुटाउनुपर्छ,' प्रमुख प्रशासकीय अधिकृत दाहालले जानकारी दिए। सुन्दरहरैंचाले यति धेरै सरकारी जग्गा ओगटेर, बजेट खर्चेर ठूलो संरचना बनाउन लाग्दा विरोध भने कसैले गरेका छैनन्। अनुत्पादक क्षेत्रमा खर्च गर्न उपभोक्ता समेत तयार देखिएका छन्।
नगरपालिका यो मूर्ति चार वर्षेभित्र बनाइसक्ने र आवश्यकताअनुसार बजेट थप्दै जाने नीति लिएको दाहालले जानकारी दिए।
यो मूर्ति बनाउन आवश्यक छ र भन्ने प्रश्नमा उनले गत वर्ष नै सर्वसम्मत पास भएर आएको योजना अहिले कार्यान्वयन मात्र गरिएको भन्दै पन्छिएको जवाफ दिए। मूर्ति बनेपछि पर्यटकको 'ओइरो' लाग्ने नगरपालिकाको विश्वास छ।
‘यो क्षेत्र धार्मिक दृष्टिले महत्वपूर्ण भइकन पनि पर्यटक आएनन् भन्ने छ,' उनले भने, ‘गाईको मूर्ति बनेपछि आउँछन्।’
नगरपालिकाले गाईको मूर्ति बनाउन यतिका खर्च गरे पनि यो क्षेत्रमा व्यवसायिक गाईभैंसी पालनमा खासै सहयोग गर्ने कार्यक्रम ल्याएको छैन। यो कुरा नगरपालिका पनि स्वीकार्छ।
‘गाईभैंसी पालनमा ठ्याक्कै बजेट छैन,' दाहालले भने, ‘रोग लाग्यो भने सहयोग गर्ने कार्यक्रम छ।’ कृषि, पशुपालन र विकास निर्माण योजनामा बजेट विनियोजन गरिएको उनले जानकारी दिए पनि कति भन्ने खुलाउन सकेनन्।
‘अर्गानिक खेतीलाई प्राथमिकता छ। कृषि औजार खरिद, मल, बीउविजनमा अनुदान छ,' उनले भने, ‘एउटा वडामा कम्तिमा एक सडक कालोपत्रे गर्न ३० लाख बजेट छ।’
तत्कालका लागि मूर्ति बनाउने काम नगरपालिकाको बजेटबाट थालिएको राधेश्याम ट्रष्टका पण्डित दिनबन्धु शास्त्रीले बताए। यो नगर निर्वाचन क्षेत्र नम्बर ६ सँग जोडिएको छ। यहाँबाट एमालेका लालबाबु पण्डितले चुनाव जितेका हुन्। आफ्नो क्षेत्र पर्ने भएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पण्डित यहाँ गाईको मूर्ति बनाउन बजेट दिन आफैं सक्रिय रहेको स्रोत बताउँछ।
तीन करोड रुपैयाँले यो नगरमा तीन वर्षसम्म नदी कटान तथा नियन्त्रण सम्भव हुन्छ। यहाँको बुढी, गछिया, लोहन्द्रा खोलामा वर्षामा बाढी आउँदा स्थानीय प्रभावित छन्। गौशालामा अहिले मन्दिर, गोत्रीय ऋषिपार्क निर्माणाधीन छ। आधारभूत विकास र सुधारका काम थुप्रै बाँकी छन्।
नगरपालिकाले मूर्ति बनाउने विषयमा भएका निर्णयबारे खुलेर उल्लेख गरेको पनि छैन। उपमेयर धनमाया तामाङले मूर्ति निर्माण के कसरी भइरहेको छ आफूलाई जानकारी नै नभएको बताइन्।
‘सबै कुरा मलाई थाहा हुँदैन, मूर्ति बनाउन कसले कति बजेट दिएको छ त्यो पनि मलाई थाहा भएन,’ उनले भनिन्।