सडकमाथिबाट आएको लेदो सडकमा जमेपछि रातिदेखि अवरूद्ध भएको पृथ्वी राजमार्ग भर्खरैबाट खुलेको छ ।
धादिङ प्रहरीका अनुसार ९ बजेर २७ मिनेटबाट सडक खुलेको हो।
धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेपछि सडक अवरूद्ध भएको थियो । सो लेदोमा केही सवारीसाधन समेत फँसेका थिए ।
सडकभन्दा माथि बालुवा निकालिएको थियो । बालुवा निकालिएपछि राति परेको वर्षाका कारण लेदो सडकसम्म आएको हो ।
राजमार्ग माथिबाट खनिएको सडकलाई व्यवस्थित गर्न नसक्दा सडक खन्दा निस्किएको लेदो राजमार्गसम्म आएपछि राजमार्ग बिहान २ बजेदेखि अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि यसलाई हटाउन बालुवा व्यवसायी र गाउँपालिकाले राजमार्गमा डोजर लगाएका थिए।
सडक अवरुद्ध भएपछि १० किलोमिटरसम्म राजमार्गमा यातायात साधन रोकिएका थिए ।