काठमाडौं पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क गराउने घोषणा गरिएको छ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बुधबार कार्यभार ग्रहण गर्दै विद्युतीय शवदाहमा नि:शुल्क शव जलाउने घोषणा गरेका हुन्।
नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्यतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेको उनले बताएका छन्।
साथै सेतो सत्तल गुह्वेश्वरीमा बृहत् अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्ने घोषणा पनि उनले गरेका छन्।
‘धार्मिक एवं सांस्कृतिक अध्ययन अनुसन्धानका लागि अन्तर्राष्ट्रियस्तरको पुस्तकालय निर्माण गर्ने निर्णय गरिएको हो। सेतो सत्तल गुह्वेश्वरीमा पुस्तकालय निर्माण गरिनेछ,' उनले भने, 'दुवै निर्णय औपचारिक रूपमा कोष सञ्चालक परिषद्को बैठकमा प्रस्ताव गरी कार्यान्वयन गर्ने तयारी छ।’
पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरामण अधिकारीका अनुसार सदस्य सचिव थापाले नि:शुल्क बनाउन प्रस्ताव गरेका छन्। अब आगामी दिन बस्ने कोषको सञ्चालक समितिको बैठकमा यसबारे छलफल हुने बताइएको छ।
'समितिले यस बारेमा छलफल गरेर निर्णय गर्छ,' उनले भने, 'सदस्य सचिव थापाले प्रस्ताव गर्नुभएको हो।'
उनका अनुसार अहिले विद्युतीय शव गृहमा एउटा शव जलाएको ४ हजार १ सय रूपैयाँ लाग्छ। दैनिक १५/२० जनाको लास जलाइन्छ।
सदस्य सचिव थापा विशेष अदालतले मंगलबार सफाइ दिएको थियो। सफाइ दिएलगत्तै कार्यभार सम्हाल्न बुधबार उनी कोष पुगेका हुन्।
विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा जलहरी राख्ने सन्दर्भमा परेको मुद्दामा थापासहित तीनै जनालाई सफाइ दिएको छ।
विशेष अदालतका अध्यक्ष एवं न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले डा. मिलनकुमार थापासहित डा. प्रदीप ढकाल, बिसेट नाइके अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो।