पोखराका मुख्य व्यापारिक क्षेत्रमा अवैध तरिकाले प्रयोग भएको नापतौल र मानापाथी नियन्त्रणमा लिन थालिएको छ।
पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, नापतौल कार्यालय र उपभोक्ता मञ्चले गरेको बजार अनुगमनमा उक्त नापतौलका सामग्री नियन्त्रणमा लिइएको हो।
संयुक्त अनुगमन टोलीले स्प्रिङ ब्यालेन्स तराजु ३१, माना १९ र अन्य १९ गरी ६९ थान नापतौलका सामग्री नियन्त्रणमा लिएको उपभोक्ता मञ्चका अध्यक्ष कपिल कोइरालाले जानकारी दिए।
महेन्द्रपुल, पृथ्वीचोक र चिप्लेढुङ्गा क्षेत्रका फुटपाथमा गरिएको अनुगमनमा त्यस्ता नापतौलका सामग्री भेटिएको उनले बताए।
नापतौल विभागका अनुगमन निरीक्षक युवराज अधिकारीका अनुसार स्प्रिङ ब्यालेन्स तराजुबाट उपभोक्ताका लागि सामान खरीद बिक्री गर्न पाइँदैन। यो अवैध भएको उनले बताए।
'स्प्रिङ तराजु प्रयोग गर्दै जाँदा लुज हुने र त्यसले एक हजारबाट घट्दै ६०० ग्रामसम्म देखाउने हुँदा यस्तो तराजुबाट उपभोक्ता ठगिन्छन्', उनले भने।
पहिलो चरणको अनुगमनमा कम लगानीका साना व्यापारी भएकाले सजक गराइएको र दोस्रो चरणको अनुगमनमा पनि लापरवाही देखिए कारवाही गरिने अधिकारीले बताए। रासस