चितवन भरतपुरको चौबिस कोठीदेखि मालपोत चोकसम्मको क्षेत्रमा नाराबाजी र प्रदर्शन गर्न नपाइने ‘निषेधित क्षेत्र’ घोषणा गरिएको छ।
स्थानीय प्रशासन र राजनीतिक दलले सर्वपक्षीय छलफल गर्दै उक्त क्षेत्रमा नाराबाजी र प्रदर्शन नगर्ने सहमति गरेका हुन्।
अब त्यहाँ हुने प्रदर्शन र नाराबाजी रोक्न प्रहरीले सिधै हस्तक्षेप गर्न पाउने छ।
टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ परेको विषयलाई लिएर उनका समर्थकले दिनहुँ प्रदर्शन गर्न थालेपछि स्थानीय प्रशासनले त्यसलाई रोक्न खोजेको हो।
उक्त क्षेत्रमा अदालत, मालपोत, प्रहरी कार्यालय लगायत रहेकाले प्रदर्शन र नाराबाजी गर्दा दैनिक कामकारबाहीमा असहज भएकाले रोक लगाउने सहमति गरिएको प्रशासनले जनाएको छ।
‘निषेधित क्षेत्र घोषणा गरिएको हैन, त्यस क्षेत्रमा प्रदर्शन र नाराबाजी नगर्ने सहमति गरिएको हो,’ प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने।
लामिछाने पक्राउ परेपछि समर्थकले उग्र रूपमा प्रदर्शन गर्न थालेपछि शान्ति सुरक्षा तथा दैनिक कामकारबाहीमा असहज पुगेको भन्दै प्रशासनले प्रमुख राजनीतिक दलसँग आइतबार छलफल गरेको थियो।
आत्महत्या दुरुत्साहन मुद्दामा लामिछानेसहित तीन जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।