सरकारले काठमाडौं–तराई मधेश द्रुत मार्ग फास्ट ट्रयाक निर्माणको विस्तृत प्रतिवेदन (डिपिआर) स्वीकृत गरेको छ। रक्षा मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको झण्डै ५ महिनापछि फास्ट ट्रयाकको डिपिआर स्वीकृत भएको हो।
कोरियाली कम्पनी ससुङले ६ महिना लगाएर तयार पारेको डिपिआरलाई गत चैत ११ गते रक्षा मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको थियो। सरकारले स्वीकृत गरेको डिपिआरमा फास्ट ट्रयाकको लागत १ खर्ब ५५ अर्ब उल्लेख गरिएको छ। यसअघि भारतीय कम्पनी आईएल एन्ड एफएसले तयार पारेको डिपिआरमा १ खर्ब १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो।
नेपाली सेनाले बुझाएको डिपिआरमा २ खर्ब १३ अर्ब लाग्ने अनुमान गरिएको भएपनि त्यसलाई सरकारले १ खर्ब ५५ अर्बमा झारेको हो। १ खर्ब ५५ अर्ब फास्ट ट्रयाक निर्माणका लागि मात्रै लाग्ने रकम हो। यसमा मूल्य अभिबृद्धि कर (भ्याट)लाई समावेश गरिएको छैन। भ्याट समेत समावेश गर्ने हो भने फास्ट ट्रयाकको लागत १ खर्ब ७५ अर्ब लाग्ने श्रोतले बतायो।
सेनाले बुझाएको डिपिआरमा कन्टिनजेन्सी खर्च भनेर ३८ अर्ब रुपैयाँ समेत अनुमान गरिएको थियो। यसअघि १ सय १३ वटा पुल बनाउनु पर्ने अनुमान गरिएकोमा सुसुङले तयार पारेको डिपिआरमा साना ठूला गरी ८७ वटा पुल प्रस्ताव गरिएको छ।
फास्ट ट्रयाकको दुरी पनि ७६.२ किमिबाट ७२.५ किमिमा झारिएको छ। डिपिआर अनुसार सुरुङको संख्या ३ वटा हुनेछन् भने यसको दुरी ६.४१५ किमि हुनेछ। ४ लेनको फास्ट ट्रयाकको चौडाई २५ मिटर हुनेछ। यसअघि आईएल एन्ड एफएसले २० मिटर चौडाको सडक प्रस्ताव गरेको थियो।
डिपिआर तयार भएसँगै अब टेण्डर प्रक्रिया अगाडि बढाउने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीलाई बताए । पुल बनाउनका लागि सेनाले चाइनिज र टर्कीस कम्पनी छनौट गरिसकेको छ। टनेलका लागि भने कम्पनी छनौट प्रक्रिया सुरु भएको छैन।
‘८७ वटा पुलमध्ये कतिवटा नेपाली निर्माण कम्पनीले काम गर्न सक्छन् पहिला हामीले त्यसको छनौट गर्छौं’ सैनिक प्रवक्ता पाण्डेले भने, ‘नेपाली कम्पनीले निर्माण गर्न नसक्ने पुलहरु मात्रै विदेशी कम्पनीलाई दिन्छौं।’
८७ वटा पुल मध्ये १६ वटा पुल विशेष प्रकारका रहेको पाण्डेले बताए।
राष्ट्रिय गौरवको फास्ट ट्रयाक निर्माण गर्नका लागि सरकारले २०७४ वैशाखमा सेनालाई जिम्मा दिएको थियो । सरकारको निर्णय अनुसार तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले जेठमा शिलन्यास गरेका थिए भने सोही वर्षको साउन तेश्रो सातादेखि सेनाले काम सुरु गरेको थियो।
अहिलेसम्म नेपाली सेनाले ५३. ५ किमि सडकको ट्रयाक खोल्ने र त्यसलाई चौडा बनाउने काम गरेको छ।