देशका विभिन्न ठाउँमा डेंगीको प्रकोप देखिएपछि स्वास्थ्य संस्थाहरूबाट अध्याधिक मात्रामा र्यापिड डायनोस्टिक टेस्ट किट (आरडिटी) को माग भइराखेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किटमा मात्रै भर नपर्न आग्रह गरेको छ।
मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखले डेंगी निदानका लागि अस्पतालहरूबाट किट माग भइराखेको उल्लेख गर्दै ज्वरो आएको विरामीमा पनि किटको प्रयोग हुने गरेको बताएको छ।
‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूबाट डेंगी रोगको शंका लागेका विरामीहरूको जाँचका लागि (आरडिटी उपर्युक्त र आवश्यक नहुने राय प्राप्त भएको छ,’ महाशाखाले निकालेको सूचनामा, ‘चिकित्सकको सल्लाह बमोजिम सेतो रगत सेल गणना, प्लेटलेट गणना र हेमाट्रोक्रिट परीक्षण गरी रोगको निदान र व्यवस्थापन गर्नु गराउनु हुन अनुरोध छ,’ भनिएको छ।
काठमाडौं उपत्यका, चितवन, मकवानपुर, कास्की, सुनसरीलगायत जिल्लामा लामो समयदेखि देखिएको डेंगी अझै नियन्त्रणमा आउन सकेको छैन। डेंगी संक्रमणबाट चितवन, सिन्धुपाल्चोकमा विरामीको मृत्यु पनि भइसकेको छ। कृषिमन्त्री चक्रपाणी खनाललाई पनि डेंगी देखिएपछि उपचाररत छन्।
डेंगी खासगरी एडिस एजिप्टाई जातको लामखुट्टेको पोथीले टोक्दा लाग्ने गर्छ।