भारतको दिल्लीबाट काठमाडौं आउँदै गरेको भारतीय गाडीबाट विभिन्न कम्पनीका ५५ थान चोरीका मोबाइलसहित दुई जनालाई पक्राउ गरिएको छ।
महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काको टोलीले भारतीय डिएल १२ सिए १४५८ नम्बरको सेतो महिन्द्रा गाडीमा चेकजाँच गर्दा विभिन्न कम्पनीका विभिन्न ब्राण्डका ५५ थान चोरीका मोबाइलसहित दुई जनालाई पक्राउ गरेको हो ।
बरामद गरिएका मोबाइल आइफोन, स्यामसुङ, एमआइ,कुलप्याड लगायतका छन्।
प्रहरी निरीक्षक खड्काका अनुसार बरामद भएको चोरीका मोबाइल १० लाख बराबर रहेको बताए।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले मोबाइलसहित पक्राउ पर्नेमा भारत दिल्ली लक्ष्मीनगरका ३३ वर्षीय दीपक महाजन र दिल्ली शास्त्रीपार्कका ३६ वर्षीय मोहम्मद चाँद रहेको बताए।
काठमाडौं प्रहरी प्रमुख सुवेदीले भने,‘दसैं/तिहार छठलगायत चाडपर्वमा हुने चोरी पैठारी नियन्त्रण तथा पटकालगायत संवेदशील वस्तुहरू भित्रने हुँदा नागढुंगालगायत मुख्य नाकामा कडाइ गरेका छौं।’
पक्राउ परेको दुई जनालाई गाडी र मोबाइलसहित राजस्व अनुसन्धान विभाग पठाइएको बलम्वु प्रहरी जनाएको छ।