धादिङको धुनिबेसी नगरपालिकामा पर्ने पृथ्वीराजमार्गको चालिसे भन्ने स्थानमा आइतबार बिहान भेटिएको शंकास्पद वस्तु सेनाले निष्क्रिय पारेको छ।
राजमार्गमा सडक कर उठाउने ढाँट छेउ नजिकै जेब्रा झोलाभित्र शंकास्पद वस्तु देखिएपछि बम भएको आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले तत्काल जिल्लास्थित सुरक्षा निकायसँग समन्वय गरी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरी घटनास्थल नियन्त्रणमा लिई शंकास्पद वस्तु निष्क्रिय पारेको हो।
नेपाली सेनाको टोलीले शंकास्पद झोला नियन्त्रणमा लिइ खोजतलास गर्दा झोलाभित्र तार जोडेको अवस्थामा प्रेसर कुकर देखिएपछि त्यसमा विष्फोटक पदार्थ हुनसक्ने आशंकामा निष्क्रिय गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थल नियन्त्रणमा लिइ शंकास्पद वस्तु निष्क्रिय पारेको हो।
सर्वसाधारणलाई आतंकित बनाउन विष्फोटक पर्दाथ राखेर सडक छेउमा कुकर बम राखिएको हुन सक्ने भएकाले सो कार्यमा संलग्न भएकाको पहिचानका लागि प्रहरीले अनुसन्धान सुरू गरेको पनि खड्काले जानकारी दिए।