चीन सरकारले विपद् व्यवस्थापनका लागि नेपाली सेनालाई १५० मिलियन युआन अर्थात् २ अर्ब ४० करोड रुपैयाँ बराबरको सैन्य सामग्री दिने भएको छ।
आइतबार बेइजिङमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र जनवादी चीनका रक्षा मन्त्री जेनेरल वेइ फेङ्गेबीच नेपाली सेनालाई सैन्य सामग्रीहरू उपलब्ध गराउने सम्झौता भएको हो।
हालै चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणमा चीनले उक्त सहायत गर्ने प्रस्ताव गरेको थियो।
नेपालले माग गरेअनुसार तीन वर्षभित्र नेपाललाई सैन्य सामाग्री हस्तान्तरण हुने रक्षा मन्त्रालयले जनाएको छ। यस भेटवार्तामा द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता भएको थियो।
चिनियाँ रक्षामन्त्री जेनेरल फेङ्गेले नेपाली सेनाको क्षमता विकासका लागि चीन सरकार सकारात्मक रहेको बताए।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले जेनेरल फेङ्गेलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणा समेत दिएका छन्। अक्टोबर २२ गते बेइजिङमा हुने एक फोरममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले सुरक्षा सरोकारका विषयमा अन्तराष्ट्रिय प्रतिनिधिहरुबीच नेपालको धाराणा राख्ने कार्यक्रम छ।