काठमाडौंमा सोमबारदेखि युवा वैज्ञानिक सम्मेलन सुरू भएको छ।
सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन्। उनले राष्ट्रिय आकांक्षा पूरा गर्न विज्ञान र प्रविधिको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिए।
विज्ञान, प्रविधि र नवप्रवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको उद्घाटनमा उनले भने, ‘प्रविधिको प्रयोग गर्न नसक्दा नेपाल विकासमा पछि परेको छ। समृद्ध नेपाल निर्माणका लागि युवा वैज्ञानिकलाई आग्रह गर्छु।’
सम्मेलन तीन दिनसम्म चल्नेछ। कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय तहमा नै प्राविधिक शिक्षा उपलब्ध गराउने गरी विज्ञान र प्रविधिलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजना सुरू सम्मेलनमा स्वदेश र विदेशमा रहेका नेपाली वैज्ञानिकहरू सहभागी छन्।