पश्चिम नवलपरासीमा लागुऔषधसहित दुई युवा पक्राउ परेका छन्। प्रहरी चौकी गेरमीको टोलीले जिल्लाको भारतीय सीमा नजिकै पाल्हीनन्दन–५ चमनटोलबाट बुधबार उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१० मन्झरीयाका ४० वर्षीय विश्राम हरिजन र पाल्हीनन्दन गाउँपालिका–३ वेशालपुरका २४ वर्षीय बेचु गोसाईँ रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार भारतबाट युपी५६डब्लु ४६८८ नंको भारतीय मोटरसाइकलमा झुण्ड्याएर नेपालतर्फ लागुऔषध ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो।
उनीहरुको साथबाट नाइट्राभेट टेन ५० पत्ता (१५०० एम्पुल), नुरफिन ५० एम्पुल, फेनारागन ५० एम्पुल र डाइजोपाम ५० एम्पुल बरामद गरिएको उनले बताए। पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
(रासस)