उदयपुरको बेलका नगरपालिका वडा नम्बर ४ र ६ को सीमा क्षेत्रमा पर्ने सिसुवा खोलाबाट रातारात ढुंगा ओसार्ने २० वटा टिपर र एउटा स्काभेटरलाई स्थानीयले नियन्त्रणमा लिएका छन्।
नदी दोहनले पछि विपत्ति निम्तिने भन्दै स्थानीयले लोड गरिएका टिपरलाई तीन दिनदेखि रोकेर राखेका हुन्।
'नियमविपरीत रातको १२ बजे ढुंगा लगिएको छ। नदी दोहनले पछि खेतीयोग्य जमिन बगर बन्ने हो। हामी यो हुन दिन्नौं,' स्थानीय रमेश आचार्यले सेतोपाटीसँग भने।
नगरपालिकाले ठेकेदारसँग गरेको सम्झौंता पत्रमै नदीजन्य पदार्थ उत्खनन्, संकलन र ढुवानी गर्दा बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म मात्र गर्नुपर्ने उल्लेख छ।
तर टिपरहरूले रातको १२ बजे ढुंगा ढुवानी गरेपछि स्थानीयले सडकमै सुतेर टिपर रोकेको आचार्यले बताए।
राति ढुंगा ढुवानी गरेको विषयमा नगरपालिकाले ठेकेदार पक्षसँग कुरा गर्ने प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टराईले जानकारी दिए।
शनिबार बिहान स्थानीयले प्ले कार्डमा 'ढुंगा बेच्न पाइँदैन, यस्तो मेयर चाहिँदैन' भन्ने नारासहित प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा ठेकेदार पक्षबाट केही समूहले बल प्रयोग गर्न खोजेपछि झपड भएको थियो।
झडपमा ठेकेदारको गाडीमा क्षति पुगेको छ।
ठेकेदार पक्षबाट गुन्डागर्दी शैली देखाउने प्रयास भएपछि स्थानीय त्यसको प्रतिकारमा उत्रेको आचार्यले बताए।
यस विषयमा नगरपालिकाले वार्ता गर्न नचाएको स्थानीयको गुनासो छ। 'हिजो चुनावमा १२ बजे राति आउने नेतालाई आज जनताको आँगनमा छलफल गर्न किन गाह्रो?,'आचार्यले प्रश्न गरे।
नगरपालिकाले भने मापदण्डविपरीत ढुंगा उत्खनन् नभएको बताएको छ। 'नियमविपरीत ढुंगा उत्खनन् भएको छैन। सम्झौतामा तोकिए अनुसार नै सबै काम भइरहेको छ,' नगर प्रमुख दुर्गाकुमार थापाले सेतोपाटीलाई जानकारी दिए।
सुरक्षाका कारण आफू स्थानीयले भने अनुसार खोलामा वार्ता गर्न नसकेको थापाले बताए।
'हामीले उहाँहरूलाई छलफलका लागि नगरपालिका बोलायौं। उहाँहरू मान्नुभएन। तर हामी के गर्ने भनेर छलफल गर्दैछौं,' थापाले भने।
गत भदौमा नगरपालिका र बीपी कन्स्ट्रक्सनबीच ३ करोड ७६ लाखमा ठेक्का सम्झौता भएको थियो। सम्झौता पत्रमा नगरपालिकाको दसवटा खोलाबाट १ लाख २१ हजार ७ सय ८० घनमिटर ढुंगा, गिटी लाने भनिएको छ।
जसमा अहिले विवाद देखिएको सिसुवा खोलाको १५ हजार २ सय ७९ घनमिटर पर्छ।
सम्झौता पत्रमा खोला उत्खनन् गर्दा नदीको धार बंग्याउन नपाइने र कुनै संस्था वा व्यक्तिको जग्गालाई नोक्सान नपुर्याउने भन्ने उल्लेख भए पनि स्थानीय किसानहरू आफ्नो खेतीमा क्षति पुग्नेभन्दै आक्रोसित छन्।