दस किलो चरेससहित मकवानपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारा पचरौटा नगरपालिका-७ का अरबिन्दकुमार पटेल र आदर्श कोतवाल गाउँपालिका-१ का सुत्लान मिया अन्सारी छन्।
प्रहरी चौकी भैंसेबाट खटिएको टोलीले उनीहरूलाई भीमफेदी गाउँपालिका-२ बाट बिहीबार अपराह्न पक्राउ गरेको हो।
बा ४० प ७२४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूबाट १० किलो २५० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
चारपाटे आकारको दस वटा पोकामा राखिएको अवस्थामा फेला परेको उक्त चरेस र पक्राउ व्यक्तिमाथि अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ।
लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम यस्तो कसूर स्थापित हुन आएमा दुई देखि दस वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
यस्तै, झापा र मोरङका तीन छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार बेलुका साढे ६ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ का २२ वर्षीय किशोर गुरुङलाई सतिघट्टा चोकबाट एक ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
यसैगरी, प्रहरी चौकी केरखाबाट खटिएको प्रहरी टोलीले इलामको चुलाचुली घर भई झापाको कमल गाउँपालिका-५ मा डेरा गरी बस्ने २६ वर्षीय दीपेश तामाङको कोठाबाट ९.२० ग्राम ब्राउन सुगर बरामद गरेको छ।
तामाङको कोठाबाट ब्राउन सुगर बरामद भएसँगै तामाङलाई समेत पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
यस्तै, विराटनगर महानगरपालिका-१५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट विराटनगर महानगरपालिका- ६ का २९ वर्षीय अनुज खत्री १ ग्राम ६०० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।
भारतको जोगवनीबाट नेपालतर्फ आउँदै गरेका खत्रीलाई चेकजाँच गर्ने क्रममा खैरो हिरोइन बरामद भएको हो।
खत्रीलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा लागुऔषधमा ओसारपसारमा अन्य दुई जनाको समेत संग्लग्नता रहेको खुल्न आएको छ।
प्रहरीले विराटनगर महानगरपालिका-६ का २६ वर्षीय अयुव आलम र केराबारी गाउँपालिका-१० का ४१ वर्षीय तेजबहादुर लिम्बूलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।