लागुऔषध खैरो हेरोइनसहित धरानबाट दुई युवा पक्राउ परेका छन्। इटहरीबाट धरानतर्फ गइरहेको डब्लुबी७४एएफ ३१४९ नम्बरको भारतय नम्बरको अटो कारबाट २२.३३ ग्राम खैरो हेरोइनसहित दुई जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापा मेचीनगर-४ का ३६ वर्षीय राजेशकुमार दाहाल र २६ वर्षीय पासाङ शेर्पा रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
यस्तै, लागुऔषधसहित इटहरीबाट एक युवक पक्राउ परेका छन्। सुनसरी धरान उपमहानगरपालिका-१० का १९ वर्षीय युवकलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो।
इटहरी-९ स्थित बसपार्कमा शंकास्पद तरिकाले हिँडिरहेका उनलाई प्रहरीले पक्राउ गरेको हो। उनले बोकेको झोलाभित्र एभिल ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल, डाइजेपाम ३५ एम्पुल गरी जम्मा १०५ एम्पुल र झोलामा नाइट्रोसन ट्याब्लेट ४० र नाइट्रोभेट ६० ट्याब्लेट बरामद भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
यस्तै, गत जेठ १३ गते धरानको भानुचोकमा प्रहरीले चेकजाँच गर्न खोज्दा मोटरसाइकल र लागुऔषध भएको झोला छोडेर फरार भएका युवालाई प्रहरीले पक्राउ गरेको छ।
को३१प ६०७३ नम्बरको मोटरसाइकल र झोला छोडेर फरार धरान-३ का नवीनराज राई पक्राउ परेका हुन्। प्रहरीका अनुसार मोटरसाइकल चेकजाँच गर्दा झोलामा लुपिजैसिक १११ एम्पुल, एभिल ११८ एम्पुल र डाइजेलाब १०४ एम्पुल फेला परेका थियो।