ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ।
ढकालको सानो भर्याङस्थित घरमा बुधबार साँझ बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ।
घरको गेटभित्र भएको विस्फोटका कारण घरका शिशा र गाडीमा क्षति पुगेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी किरण बज्राचार्यले जानकारी दिएकी छन्। उनका अनुसार घटना साँझ ७ बजेर ५५ मिनेट जाँदा भएको हो।
घटनाको जिम्मेवारी विप्लव समूहले लिएको छ। विस्फोट आसपास फेला परेको विप्लव समूहको पर्चामा बालुवाटार जग्गा कब्जा गर्नेलाई पार्टीले कारवाही गर्ने उल्लेख गरिएको छ।
पर्चामा 'शोभाकान्त ढकाल ललिता निवासको सरकारी जमिन व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने प्रपन्चका मुख्य योजनाकार भएकाले उनको घरमा वम विस्फोट गराएको' उल्लेख छ।
विस्फोटबाट ढकालको साढे दुई तले घरको शिशा फुटेको छ भने बा ५ च ९५५९ नम्बरको टोयोटा गाडीमा क्षति पुगेको छ। घरको गेट पूर्णरूपमा ध्वस्त भएको छ। छिमेकीका तीन वटा घरका झ्याल, ढोकाका शिशा पनि फुटेका छन्।
कुकरभित्र फलामको किला राखेर बम बनाइएकाले बढी क्षति भएको प्रहरीले जानकारी दिएको छ।
प्रधानमन्त्री निवास बालुवाटार परिसरसँगैको १४ रोपनी सरकारी जग्गा शोभाकान्त ढकालको र अधिवक्ता राम सुवेदीको नाममा रहेको पाइएपछि ढकाल उक्त प्रकरणमा मुछिएका थिए।
बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा पुगेको उजुरीपछि सरकारले पूर्वसचिव शारदा त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।
समितिले यो जग्गा हडप्ने प्रकरणमा ढकाल र सुवेदी सुरूदेखि नै संलग्न भएकाले उनीहरूलाई भू-माफिया भनेको थियो।
यो पनि पढ्नुस्ः
प्रधानमन्त्री निवास बालुवाटार परिसरसँगैको १४ रोपनी सरकारी जग्गा अझै ‘भू-माफिया' शोभाकान्त ढकाल र अधिवक्ता राम सुवेदीको नाममा रहेको पाइएको थियो। अहिलेको बजार मूल्यअनुसार उक्त १४ रोपनी जग्गा झन्डै दुई अर्ब रुपैयाँ पर्छ।
उनीहरूले आफ्ना नाममा ल्याएका कैयन रोपनी जग्गा अरूलाई बेचे पनि १४ रोपनी अझै उनीहरूकै नाममा छ।
छानबिन समितिका एक सदस्यका अनुसार ढकाल र सुवेदीले अपचलन गरी आफ्ना नाममा ल्याएको सबैभन्दा धेरै जग्गा भाटभटेनी सुपरमार्केट, त्यसका सञ्चालक मीनबहादुर गुरूङ र उनका परिवारलाई बेचेका थिए।
त्यस्तै, मीनबहादुरका आफ्नै भाइ पहलमान गुरूङकी पत्नी सरलाको नाममा चार रोपनी जग्गा देखिन्छ। भाटभटेनी सुपरमार्केटकै नाममा तीन रोपनी छ।
ढकाल र सुवेदीका श्रीमती उमा ढकाल र माधवी सुवेदीका नाममा रहेको कित्ता नम्बर ३०९ र ३०१५ को आठ आना जग्गा विष्णु पौडेलका छोरा नविन पौडेलका नाममा पास भएको देखिन्छ।
प्रधानमन्त्री निवास परिसर बालुवाटारभित्र आफ्नो जग्गा रहेको दाबी गर्दै ढकाल र सुवेदीले सरकारबाट परिसरबाहिर अर्को जग्गा सट्टापट्टा लिएका छन्।