नेपाली सेनाले शिवरात्री र सेना दिवसका दिन गर्ने कार्यक्रमको रिहर्सल गर्दा मंगलबार दिउँसो त्रिभुवन विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ।
दिउँसो पौने २ देखि पौने ५ बजेसम्म सेनाले काठमाडौंको आकाशमा हेलिकप्टर र जहाज उडाएर रिहर्सल गर्दैछ। रिहर्सलमा पुष्पवृष्टिदेखि प्याराजम्पसम्म गरिँदैछ। यसपालि फागुन ९ गते शिवरात्री परेको छ। सोही दिन सेनाले आफ्नो स्थापना दिवस मनाउँछ।
‘हामीले हिजै पौने २ बजेदेखि दुई घन्टाका लागि नोटाम जारी गरेका थियौं तर विदेशतिरको सेड्युलका कारण जहाजहरू आए।
त्यसैको असर परेको हो,’ विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले सेतोपाटीसँग भने। सैनिक स्रोतका अनुसार सेनाको रिहर्सल ४:४५ बजेमात्र सकिनेछ।
सेनाको जहाज अर्कैतिर जाँदा अवतरण र उडान गरिएको उनले बताए।
जहाज नियमित उडान-अवतरण नहुँदा कैयौं जहाजले सिमराको आकाशमा चक्कर लगाएका छन् भने आन्तरिकतर्फका जहाज डिले भएका छन्।