एक्स्पोमा सहभागी गराउन तुलसीपुर उपमहानगरपालिकाले सोमबार विद्यालयमा सार्वजनिक बिदा दिएको छ।
दाङको तुलसीपुरस्थित बेलझुण्डी रंगशालामा प्रदेश सरकारले फागुन १० गतेदेखि १२ गतेसम्म प्रदेश एक्स्पो आयोजना गरेको छ।
त्यही एक्स्पोमा विद्यार्थी लैजान तुलसीपुर क्षेत्रका विद्यालयलाई बिदा दिइएको उपमहानगरपालिकाका शिक्षा समिति संयोजक देवराज विश्वकर्माले जानकारी दिए।
विद्यार्थीहरूलाई प्रदेश एक्स्पोमा सहभागी गराएर प्रदेश सरकारका विभिन्न गतिविधिका बारेमा जानकारी दिन विद्यालय बिदा दिइएको विश्वकर्माले बताए।
उनले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिनका लागि एक्स्पो जस्ता कार्यक्रहरूमा विद्यार्थीको सहभागिता अति आवश्यक रहेको तर्क गरे। विद्यालयमा सार्वजनिक बिदा गरिनुको अर्थ उनीहरूलाई विद्यालयले एक्स्पो अवलोकन गराउन लैजाउन भन्नको लागि भएको हुँदा त्यसमा विद्यालय प्रशासनले सघाउनु पर्ने उनको भनाइ थियो।
उनले भने ‘प्रदेशकै गौरवको महोत्सव आफ्नै ठाउँमा भएको हुँदा त्यसको महत्वलाई बुझेर विद्यार्थीलाई अनिवार्य रूपमा अवलोकन गराउनुपर्छ भन्ने हाम्रो मान्ने हो।’
प्रदेश सरकार स्थापना भएको अवसर पारेर दुई वर्षसम्म प्रदेश सरकारले गरेका गतिविधिका बारेमा जानकारी दिन तथा प्रदेश भरका सम्भावनाहरूको उजागर गर्न भन्दै एक्स्पो आयोजना गरिएको छ।
एक्स्पोमा विभिन्न सामाजिक, आर्थिक, पर्यटकीय, साँस्कृतिक पक्षलाई समेटेर विभिन्न स्टलहरू राखिएका छन्।
सोमबार एक्स्पोको अन्तिम दिन हो।
एक्स्पो सञ्चालन गर्न प्रदेश सरकारले ५० लाख बजेट छुट्याएको छ। त्यसका साथै स्टलहरूबाट ३ हजारदेखि १० हजारसम्म पैसा उठाइएको छ।