देशभरि साताव्यापी लक डाउन जारी छ। मानिसहरू एकअर्काको सम्पर्कमा धेरै नआऊन् र कोरोना भाइरस फैलिन नपाओस् भनेर सरकारले लक डाउन गरेको हो।
लक डाउनका बेला खाद्यान्नलगायत अन्य अत्यावश्यक सामग्रीको भने दिनदिनै खाँचो पर्छ। त्यही भएर सरकारले त्यस्ता पसलहरूलाई निर्वाध रूपमा चलाउन भनेको छ। पसलमा जाँदा पनि अरू मानिससँग सम्पर्क हुने भएकाले फिजिकल डिस्टेन्स कायम राख्नुपर्छ। त्यो दूरी कसरी कायम गर्ने त?
त्यही फिजिकल डिस्टेन्स कायम राख्न सजिलो होस् भनेर कीर्तिपुरमा प्रहरीले त्यस्ता पसलका अगाडि घेरा बनाएको छ।
खाद्यान्न तथा औषधि पसलहरूमा व्यापारी तथा ग्राहकबीच दूरी कायम गर्न केही फिटको दूरीमा गोला घेराहरू बनाइएको हो।
'हामीले अत्यावश्यक सामाग्रीहरू किनबेच गर्दा केही दूरी कायम गरोस् भनेर खुलेका खाद्यान्न तथा औषधि पसलहरूमा गोलो घेरा लगाइदिएका हौं,' कीर्तिपुर प्रहरी वृत्तका डिएसपी छेदीलाल कमातीले सेतोपाटीसँग भने।
उनका अनुसार बिहिबार बिहान पाँगा दोबाटो, नगाँउ बसपार्कलगायतका केही पसलहरूमा घेरा लगाइएको छ।
कीर्तिपुरमा पनि लक डाउनमा अतिआवश्यक सेवाबाहेक अन्य सबै बन्द रहेको र अहिलेसम्म कोही पक्राउ नपरेको उनले बताए।