गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बाग्लुङकी १९ वर्षीया कोरोनाभाइरस संक्रमित युवतीसँग टेलिफोन कुराकानी गरेका छन्।
बिहीबार उनले धौलागिरि अञ्चल अस्पतालमा उपचाररत ती युवतीलाई फोन सम्पर्क गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
उनले अस्पतालका स्वास्थ्य अधिकारीहरूले राम्रो हेरचाह गरे/नगरेको समेत बुझ्न चाहे र आफूले दिनुहँ यसबारेमा स्वास्थ्यकर्मीहरूसँग जानकारी लिएको समेत बताए।
यतिमात्र होइन उनले केही सल्लाह र सुझाव ती युवतीलाई दिए।
'एकदम आनन्दले बस्नुहोला। पानी चाहिँ धेरै खानुहोला मैले त्यहाँ डाक्टरहरूलाई पानी पर्याप्त खाने व्यवस्था गर्न भनेको छु,'मन्त्री सुब्बाले फोनमा भने,'डाक्टरले जति मागे पनि दिएका छौं तताउने भाँडो नै दिएको भनेका छन्।'
उनले नआत्तिकन बस्न र केही समयपछि निको हुने भन्दै उनलाई विश्वस्त पारे।
'तपाईंको तीन चार पटक टेस्ट गर्नुपर्छ निको भएपछि नेगेटिभ देखिन्छ। १४ दिनपछि निस्कन पर्छ भन्लान् दुई चार दिन अझै बस्नु पर्छ,'उनले भने,'त्यसो गर्यो भने रोग निख्रिन्छ नि त। रोग निख्रिएपछि घर जानुपर्छ है बहिनी।'
मन्त्री सुब्बाले उनको स्वास्थ्य अवस्था निरन्तर रूपमै बुझ्ने समेत बताए।
ती युवतीले भने अहिलेसम्म आफ्नो अवस्था सामान्य नै रहेको मुख्यमन्त्रीलाई जानकारी दिइन्।
उनी गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी थिइन्।
उनीसँगै बेल्जियमबाट आएकी बाग्लुङकै ६५ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको थियो।
उनको पनि उपचार सोही अस्पतालमा भइरहेको छ।