केही भारतीय मिडियामा आएका समाचारप्रति नेपाली सेनाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
केही भारतीय मिडियाले भ्रामक दुरासयपूर्ण काल्पनिक तथा निराधार समाचार दिएको भन्दै यस्ता समाचार दुई देशका सेनाबीचको ऐतिहासिक सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्धेश्यबाट प्रेरित भएको उल्लेख गरेको छ।
गत जेठ १४ गते हिन्दुस्तान टाइम्सले ‘इन ह्युज सेटब्याक टु पिएम ओली,नेपाल्स् न्यू पोलिटीकल म्याप हिट्स अ रोडब्लक’ शीर्षक र जेठ १५ गते टिएफआई पोस्टले‘ओली अर्डर नेपाल चिफ अफ आर्मी टु रिब्युट इन्डियन आर्मी चिफ्स् रिमार्क्स,द नेप्लेिज जेनरल सेड‘नो थ्यांक्स’शीर्षकमा समाचार छापेको थियो।
हिन्दुस्तान टाइम्सले समाचारमा प्रधानमन्त्री केपी ओलीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले दिएको अभिव्यक्तिको खण्डन गर्न दबाब दिएको तर नेपालका प्रधानसेनापति पुर्णचन्द्र थापाले नमानेको भनेर लेखेको थियो। भारतीय सेनाध्यक्ष नरवणेले पिथौरागढ-लिपुलेक सडकको विरोध नेपालले अरु कसैको इसारामा गरेको भनेर आरोप लगाएका थिए।
यही विषयमा प्रधानमन्त्री ओलीले प्रधानसेनापति थापालाई बोल्न लगाउँदा थापाले अस्वीकार गरेको भनेर लेखिएको छ। यो राजनीतिक कुरा हो म बोल्दिनँ भनेर प्रधानसेनापति थापाले भारतीय सेनाध्यक्षलाई जवाफ नफर्काएको समेत भनिएको छ। संविधान संशोधन स्थगित हुनुको कारण पनि प्रधानसेनापतिको असहयोग भनेर समेत समाचारमा उल्लेख छ। टिएफआई पोस्टले हिन्दुस्थान टाइम्सलाई नै स्रोत मानेर समाचार लेखेको थियो। जसमा प्रधानमन्त्री ओलीलाई भारतविरूद्धको कदममा सेनाले साथ नदिएको भन्ने आशयको समाचार लेखिएको थियो।
सोही समाचारको नेपाली सेनाले खण्डन गरेको हो।
'राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अफवाहमा विश्वास नगर्न आमपाठक तथा स्वाभिमानी नेपाली नागरिकलाई हार्दिक अनुरोध गरिन्छ।'
नेपाली सेनाले बिहीबार राति निकालेको विज्ञप्तिमा भनिएको छ,'यस सम्बन्धमा माननीय उपप्रधान तथा रक्षामन्त्रीज्यूबाट समेत धारणा सार्वजनिक भइसकेको जानकारी गराउँदै नेपाली सेना नेपालको संविधानअनुरूप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिवद्ध रहेको जानकारी पनि गराउन चाहन्छौं।'
आगामी दिनहरूमा समेत विभिन्न माध्यमबाट नेपाल, नेपाली नागरिक र नेपाली सेनासम्बन्धी यस प्रकारका अफवाह फैलाउन प्रयास हुन सक्ने भन्दै नेपाली सेनाले सचेत र सजग रहन समेत अनुरोध गरेको छ।