जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतभित्र रहेका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।
१७ वर्षीय युवकमा पिसिआर परीक्षण गर्दा आइतबार कोरोना पोजेटिभ देखिएको हो।
‘हिरासतमा रहेका एक जनामा कोरोना देखिएको छ,’ गोरखाका एसपी ओम अधिकारीले सेतोपाटीसँग भने।
ती युवक दश दिनअघि पक्राउ परेका हुन्। जवरजस्ती करणी अभियोगमा ती युवकलाई प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ गरेपछि आरडिटी परीक्षण गर्दा नेगेटिभ आएपछि उनलाई हिरासतमा राखिएको थियो।
ती युवकसहित गोरखा प्रहरी हिरासतमा अर्का एक पुरूष पनि सँगै थिए।
एसपी अधिकारीका अनुसार ती युवकसँग सम्पर्कमा आएका सबैको खोजी गर्ने तयारी छ।
संक्रमित युवकलाई गोरखा अस्पतालमा रहेको आइसोलेसनमा राखिने जिप्रका गोरखाले जनाएको छ।
गण्डकी प्रदेश जनस्वास्थ्य प्रगोगशालामा गरिएको परीक्षणका क्रममा: गोरखामा एकै दिन आइतबार दश जना संक्रमित फेला परेका हुन्।
संक्रमितमध्ये आठ जना भारतबाट फर्केर क्वारेन्टाइन बसेका व्यक्ति हुन्। एक युवक पालुङटारका र अर्का एक संक्रमित भने काभ्रेबाट हालै गोरखा गएको खुलेको छ।