नेपाल एयरलाइन्सका तीन पाइलटसहित ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमा चार जना भने उडान कर्मचारी रहेका छन्।
एयरलाइन्स स्रोतका अनुसार सोल्टी होटलमा क्वारेन्टिनमा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको हो।
अरु सात जनाको पनि पहिलो पिसिआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको र क्रस भेरिफिकेसनको नतिजा आउन बाँकी रहेको स्रोतले जनाएको छ।
एयरलाइन्सले आफ्ना पाइलट लगायत उडान कर्मचारीलाई क्वारेन्टिनको लागि सोल्टी होटलमा राख्दै आएको छ। क्वारेन्टिनमा रहे पनि पाइलट लगायत उडान कर्मचारीहरूले एयरलाइन्सको वार्षिकोत्सवमा केक काटेर रमाइलो गरेको खुलेको छ।
त्यसैले त्यहाँ सहभागी सबै व्यक्तिहरू कन्ट्याक्ट ट्रेसिङमा परेका छन्। एयरलाइन्सले आफ्ना पाइलट र उडान कर्मचारीलाई राख्न सोल्टी होटलमा ७५ वटा कोठा बुक गरेको छ।
सरकारले नेपाल एयरलाइन्सबाट तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्दार गर्दै आएको छ। यसअघि पनि हिमालय एयरलाइन्सका एक पाइलटसहित दुई जनामा संक्रमण देखिएको थियो।