प्रहरीले चन्द्रागिरीबाट एक किलो १ सय ६० ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ। शनिबार दिउँसो २ बजे चन्द्रागिरी नगरपालिका-५ दाउराडिपोस्थितको टहराबाट ४२ वर्षीय देवेन्द्र थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो।
उनी मकवानपुर थाहा नगरपालिका-७ का हुन्। महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले विशेष सूचना तथा निरन्तरकाे निगरानीबाट उनलाई पक्राउ गरेको डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।
'धादिङबाट ल्याएर उनले आफ्नो टहरामा आउने स्थानीय युवाहरूलाई चरेस बेच्ने गरेका थिए,' डिएसपी श्रेष्ठले भने।
उनको टहराबाट प्रहरीले चरेस १ किलो १६० ग्राम, चरेस प्याकिङ गर्ने कागज तथा तराजु बरामद गरेको छ। उनीमाथि लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएकाे प्रहरीले जनाएकाे छ।