दक्षिणकाली नगरपालिकाले शुक्रबार राति १ बजेदेखि लकडाउन गर्ने भएको छ।
संक्रमित संख्या बढ्न सक्ने भन्दै शुक्रबारदेखि भदौ ८ गते सम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको मेयर मोहन बस्नेतले जानकारी दिए।
शुक्रबार बसेको नगरस्तरीय समन्वय समितिको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो।
उनका अनुसार त्यहाँ शुक्रबारसम्म तीन जनामा संक्रमण देखिएको छ। तर उनीहरूसँग सम्पर्कमा आउनेको संख्या धेरै भएपछि लकडाउन गर्ने निर्णय गरिएको हो।
'संक्रमित तीन जना छन्। तर उनीहरूको सम्पर्कमा धेरै जना आएका छन्,'उनले सेतोपाटीसँग भने,'त्यसैले जोखिमलाई मध्यनजरमा राख्दै हामीले लकडाउन गरेका हौं।'
मंगलबार दक्षिणकालीका एक सय ३५ जनाको स्वाब परीक्षण गरेको थियो।
शनिबार पनि नगरमा एक सय जनाको स्वाब लिन लागिएको उनले बताए।