खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षका लागि घोषित पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान दुवै रद्द गर्ने निर्णय गरेको छ।
दुवै पुरस्कारमा उत्पन्न विवादपछि सोमबार बसेको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
'सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरूको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ,' प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रतिष्ठानले आइतबार लेखक सञ्जीव उप्रेतीको उपन्यास 'हंस' लाई २०७६ सालको पद्मश्री साहित्य पुरस्कार र साहित्यकार मोदनाथ प्रश्रितलाई 'पद्मश्री साधना सम्मान' दिने निर्णय सार्वजनिक गरेको थियो।
त्यसलगत्तै यौनशोषणको आरोप लागेका प्रश्रितलाई सम्मान गर्ने कुरा सामाजिक सञ्जालमा विवादित बन्यो। त्यसपछि नैतिकताका आधारमा प्रश्रितसँग एउटै मञ्चमा पुरस्कार ग्रहण नगर्ने उप्रेतीले घोषणा गरे।
यसबीच आइतबार प्रश्रितले पनि प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो चरित्रहत्या भएकाले पद्मश्री सम्मान नलिने बताए।
'यसबाट पर्न गएको असुविधाले हामी अत्यन्त दु:खी छौं, तर हाम्रो उद्देश्य कसैको भावना र संवेदनामा ठेस पुर्याउने कदापि थिएन,' प्रतिष्ठानको विज्ञप्तिमा भनिएको छ, 'सम्मानित र पुरस्कृत स्रस्टा, साहित्यप्रेमी तथा शुभचिन्तक महानुभावहरूको आत्मसम्मानमा पर्न गएको ठेसप्रति प्रतिष्ठान क्षमायाचना गर्दछ।'
प्रतिष्ठानले २०६३ देखि पद्मश्री साहित्य पुरस्कार र २०६७ देखि पद्मश्री साधना सम्मान दिँदै आएको छ।