नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पाल्पाका जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहसहित २ जना पक्राउ परेका छन्।
बिहीबार प्रहरीले उनीहरूलाई बुटवलबाट पक्राउ गरेको हो।
सांगठनिक कामको सिलसिलामा बुटवल आएका सिंह र पाल्पाका जिल्ला सदस्य मिनबहादुर आलेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए।
उनीहरूबाट विस्फोटक पदार्थ र पार्टीको दस्ताबेजसमेत बरामद भएको राठौरले बताए।
विशेष सुराकीको आधारमा बुटवल-७ दिपनगरका निशान भन्ने निरबहादुर विकको कोठामा उनीहरू आएको थाहा पाएपछि प्रहरीको टोलीले पक्राउ गरेको हो।
उनीहरूविरुद्ध विष्फोटक पदार्थ शिर्षकमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ उपदफा ६ बमोजिम मुद्दा चलाउन लागेको छ।
उनीहरूलाई ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत रुपन्देहीले अनुमति दिएको प्रहरीले जनाएको छ।
उनीहरू अहिले ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा छन्।