भन्सार छली भित्र्याउँदै गरेको तस्करीको सामान नियन्त्रणमा लिने क्रममा आज अपरान्ह वीरगञ्जको नेपाल भारत सीमानजिकै प्रहरी र तस्करबीच झडप भएको छ।
झडपको क्रममा अस्थायी प्रहरी चौकी इनर्वाका इन्चार्ज जय प्रकाश पाण्डे घाइते भएका छन्।
तस्करहरूको आक्रमणबाट पाण्डेको नाकमा गहिरो चोट लागेको छ ।
घाइते पाण्डेको नारायणी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीलाई कुटपिट गर्ने दुई जना तस्करलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य तस्करहरू फरार छन्।
पक्राउ पर्नेहरूमा वीरगञ्ज छपकैयाका मुन्ना साठी र मिना देवी रहेको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।
तस्कर समूहसँग प्रहरीको झडप भएसँगै घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप बल पुगेको र सो क्रममा तस्करीको सामानसहित २ जनालाई पक्राउ गरिएको जनाइएको छ।
प्रहरीलाई कुटपिट गर्ने अन्य तस्कर समूहको खोजी भइरहेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।