सहकारीको बचत अपचलन छानबिन गर्न गठित संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी छ।
बैठक अहिले बिहान साढे ८ बजेदेखि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसिरहेको नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
‘संसदीय समितिको कार्यादेश टुंग्याउन बैठक जारी रहेको छ,’ एमालेका प्रमुख सचेतक बर्तौलाले भने।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तापक्ष, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका बीचमा शनिबार सहकारीको बचत अपचलनबारे छानबिन गर्न संसदीय समिति बनाउने सैद्धान्तिक सहमति भएको थियो।
संसदीय छानबिन समितिको कार्यादेश तय गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदलसमेत गठन भएको थियो। कार्यदलमा एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सांसद जीवन परियार, रास्वपा सांसद खनाल रहेका छन्।
सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेतको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेको थियो। उसले संघीय संसद्को कामकारबाही पनि अघि बढाउन दिएको थिएन।
कांग्रेसको अवरोधकै कारण संसद बर्खे अधिवेशन सुरू भएयता नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।
यद्यपि गत जेठ १ गते सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भने प्रस्तुत गरिसकेको छ।
प्रमुख प्रतिपक्षी कांग्रेसको माग सम्बोधन भएकाले सदनको गतिरोध आइतबारबाट अन्त्य हुने विश्वास गरिएको छ।
आजै बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ।