काठमाडौंमा सक्रिय नेपाल भेन्टिलेटर सर्भिसको शाखा पोखरामा पनि गठन भएको छ।
कोरोना महामारीमा गम्भीर प्रकृतिका संक्रमितले भेन्टिलेटर नपाउने अवस्था आएपछि गठित उक्त संस्थाले पोखरामा पनि शाखा विस्तार गरेको हो।
संस्थाले तत्काल ४ वटा भेन्टिलेटर र ३ वटा हाइ फ्लो न्याजल क्यानोला दिएर पोखरामा शाखा विस्तार गरेको शाखा अध्यक्ष विश्वशंकर पालिखेले बताए।
पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका पालिखेको अध्यक्षतामा गठित शाखाको सचिवमा पत्रकार रामकृष्ण ज्ञवाली, सदस्यहरूमा उद्यमी विप्लव पौडेल, सुनिल गोसेली र डा. सरोज पोखरेल छन्।
रोटरी इन्टरनेसनलका पूर्वगभर्नर किरणलाल श्रेष्ठ शाखाको सल्लाहकार छन्।
संस्थाले पोखरामा २० वटा भेन्टिलेटरको व्यवस्थाा गर्ने जनाएको छ। ‘२० वटा भयो भने पोखरामा तत्कालको आवश्यकता पूरा होला’, अध्यक्ष पालिखेले भने, ‘पोखराका अस्पतालहरूसँग सहकार्य गरेर सञ्चालन गर्छौं।’
भेन्टिलेटर आवश्यक परेका बिरामीलाई तत्काल भेन्टिलेटर उपलब्ध गराउने र त्यसबापत न्यूनतम शुल्क लिने उनले बताए।
सरकारी अस्पतालले प्रतिदिन भेन्टिलेटरको १ हजार र हाईफ्लो नोजल क्यानेलाको ३ सय रुपैयाँ तिर्नु पर्नेछ भने निजी अस्पताललाई भेन्टिलेटरको ३ हजार र हाइ फ्लो नोजल क्यानेलाको प्रतिदिन ७ सय रुपैयाँ शुल्क तय गरिएको छ।
यस्तै, सामुदायिक अस्पतालले भेन्टिलेटरको प्रतिदिन २ हजार र हाइ फ्लो नोजल क्यानेलाको ५ सय रुपैयाँ तिर्नुपर्छ। भेन्टिलेटर सेवा सञ्चालन गर्दा बिरामी वा अस्पतालले सम्पर्क गरेर लैजान सक्ने अध्यक्ष पालिखेले बताए ।