भक्तपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।
महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रवक्ता प्रहरी निरीक्षक सुवास बुढाथोकीका अनुसार बिहीबार साँझ साढे ६ बजे एक महिला मृत फेला परेकी हुन्।
चाँगुनारायण नगरपालिका-४ फुलबारीमा काभ्रे खानीखोला गाउँपालिका-३की ४३ वर्षीया अन्तरीमाया थिङ मृत फेला परेकी हुन्।
उनी मिनबहादुर खत्रीको ब्लक, सिमेन्ट र जस्ताले बनेको घरमा डेरा गरी बस्थिन्। त्यहाँ श्रीमान र सात वर्षकी छोरीसँग उनी बस्ने गरेको प्रहरी निरीक्षक बुढाथोकीले बताए।
'उनी आफ्नो कोठामा नभइ अगाडि कामदारहरू बस्ने कोठामा फेला परेकी हुन्। उत्तानो परेको अवस्थामा फेला परेकी हुन्,' बुढाथोकीले भने, 'त्यहाँ अर्को कोठामा सात जना कामदारहरू बस्थे।' सातै जनालाई प्रहरीले नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको छ।
उनका अनुसार मृत फेला परेका बेला कोही थिएनन्।
'हिजो आमा नजिकै छोरी रोइरहेकी थिइन्। बच्चा रोएको सुनेर अरू छिमेकी आएर हेर्दा उनी मृत अवस्थामा रहिछन्, ' प्रहरी निरीक्षक बुढाथोकीले भने।
बिहीबार उनका श्रीमान् पनि कामको शिलशिलामा काभ्रे गएका थिए।
'महिलाले धेरै मापसे गर्ने गरेको खुलेको छ,' उनले भने, 'त्यहाँका केटाहरू काम गर्नकै लागि मात्र बसेको भएर कोठा खुल्लै छाड्थे।'
ती महिलाको पोष्टमार्टम रिपोर्ट आएपछिमात्रै मृत्युको कारण खुल्ने उनले बताए।
पोष्टमार्टमका लागि उनको शव भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा लगिएकाे छ।