सुर्खेतको एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ।
बुधबार दिउँसो १२ बजे सुर्खेतको गुर्भाकोट नगरपालिका–८ का ७४ वर्षीय वृद्धको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
खोकीसँगै सास फेर्न कठिनाइ भएपछि उनलाई पुस ७ गते कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको थियो। आकस्मिक कक्षमा भर्ना गरिएका उनलाई ९ गते अस्पतालको विशेष उपचार कक्षमा भर्ना गरिएको थियो।
पुस १२ गते स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए। त्यसपछि आइसियुमा भर्ना गरिएको उनको बुधबार मृत्यु भएको हो।
उनले श्वासप्रश्वाससम्बन्धी औषधि समेत सेवन गर्ने गरेको उनले जानकारी दिए।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वय र नेपाली सेनाको सहयोगमा उनको शव व्यवस्थापन गरिएको छ।
उनी कर्णाली प्रदेशमा मृत्यु भएका २८ औं कोरोना संक्रमित हुन्।
हालसम्म कर्णाली प्रदेशमा सुर्खेतका १६, दैलेखका ६, डोल्पा, कालीकोट, र रुकुम पश्चिमका एक/एक जनाको मृत्यु भएको छ।
यस्तै, बाँकेका २ जना र स्याङ्जाका एक जना कोरोना संक्रमितको कर्णाली प्रदेशमा मृत्यु भएको महाशाखाले जनाएको छ।