सल्यानबाट बिक्री गर्नका लागि बाँके लगिएका दुई चितुवाका छालासहित तीन व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सल्यान जिल्लाको बाघचौर नगरपालिका वडा नं. ३ का ३१ वर्षीय जितबहादुर डिसी, कुमाख गाउँपालिका वडा नं. ३ मर्म पोडीकाराका हेल्थ असिस्टेन्ट समेत रहेका २४ वर्षीय हिमन्द्र वली र कुमाख गाउँपालिका वडा नं. ७ जिमालीका २१ वर्षीय कमल डिसी छन्।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आइतबार राति १० बजेतिर राप्ती सोनारी गाउँपालिका वडा नं. १ कुसुमबाट पक्राउ गरेको थियो।
जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार जितबहादुरले बोकेको झोलामा दुई थान चितुवाको छाला बरामद भएको हो। प्रहरीका अनुसार दुई चितुवा दुई वर्ष पहिले जितबहादुरले पासोमा पारेर मारेका थिए।
त्यसपछि चितुवाको छाला निकालेर आफ्नो मोबाइलमा फोटो खिचेर राखे। त्यो फोटो थारमारेका अर्जुन भन्ने व्यक्तिले देखे। अर्जुनले जिमाली गाउँका दिपक रावतसँग यसबारे कुरा गरे।
दिपकले जितबहादुरलाई लालच देखाए। छाला बेच्ने भए नेपालगञ्जका व्यापारीलाई बिक्री गराइदिने आश्वासन दिए।
दिपकले नै तीन जनालाई छाला बोकाएर बाँके तर्फ पठाए। बाँकेको कुसुम पुगेपछि तीन जना गाडीबाट ओर्लिएर राजमार्गमा हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
दिपकले चितुवाको दुई छालालाई ४० देखि ६० लाख मूल्यमा बिक्री गर्ने योजना लिएको भन्ने अनुसन्धानबाट खुलेको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए।
पक्राउ परेका तीनै जनाबिरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिम मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।
उक्त ऐन अनुसार दोषीलाई एक लाखदेखि २५ लाखसम्म जरिवाना एक वर्षदेखि १० वर्षसम्म कैद हुन सक्ने व्यबस्था छ।