शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा मुटुको ओपन शल्यक्रिया शुरु भएको छ।
केन्द्रमा पछिल्लो ३ महिनादेखि मुटुको इन्टरभेन्सनल शल्यक्रिया (मुटूको एन्जियोग्राम, स्टेण्टिङ्ग जस्ता शल्यक्रिया) भइरहेको प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. प्रेमराज ज्ञवालीले जानकारी दिए।
बुधबार गरिएको मुटुको ओपन शल्यक्रिया केन्द्रका कार्डियो-थोरासिक तथा भास्कुलर विभागका शल्य चिकित्सकहरु डा सम्पूर्णमान तुलाधर, डा संजित शाह, डा रीचा जोशीको नेतृत्वमा भएको थियो। प्रा डा ज्योतिन्द्र शर्मा, डा मुरारी उप्रेती र पर्फ्युजनिस्ट महेन्द्र भट्टको टीमको सहयोगमा उक्त अपरेसन गरिएको थियो।
एनेस्थेसिया विभागका चिकित्सकहरू डा आरती राई, डा निभा, डा सोभित र डा सुशील तामाङ तथा अपरेसन थिएटरका नर्सहरु कामना र ज्योतिको प्रत्यक्ष संलग्नता थियो।
प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्रा डा ज्ञवालीका अनुसार कोभिड - १९ को कारणले संसार भरी नै स्थगित भएको मृगौला प्रत्यारोपणको शल्यक्रिया पनि गत तिहार अगाडि देखि नै शुरु गरिसकिएको छ। हालसम्म १२ जना बिरामीमा मृगौला प्रत्यारोपण गरिएको डा ज्ञवालीले सेतोपाटीलाई जानकारी दिए।