उच्च अदालत जनकपुरले लक्ष्य अनुरूप मुद्दा फर्छ्यौट गर्न सकेको छैन।
उच्च अदालत जनकपुरले चालु आर्थिक वर्षमा फर्छ्यौट गर्न लिएको लक्ष्यको २५.५ प्रतिशत मुद्दामात्रै फर्छ्यौट गर्न सकेको देखिएको हो।
उच्च अदालतले चालू आर्थिक वर्षमा २ हजार ९ सय ५८ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएको थियो भने माघ मसान्तसम्ममा २ हजार ३ सय ४५ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य थियो। तथापि अदालतले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा ५ सय ९८ मुद्दाहरूको मात्रै फर्छ्यौट गर्न सकेको हो।
पछिल्लो वर्ष आएको कोरोना महामारी र जनशक्ति अभावका कारण मुद्दाहरू फर्छ्यौट गर्न हम्मेहम्मे परिरहेको उच्च अदालत जनकपुरका रजिष्ट्रार खङ्गराज अधिकारीले बताए।
उनले जनशक्ति अभाव तथा कोरोना महामारीकै कारण मुद्दाहरूको फर्छ्यौट हुन नसक्दा मुद्दाका चाप बढ्दै गइरहेको बताए।
उच्च अदालत जनकपुरमा ९६ जना कर्मचारीको दरबन्दी रहेको छ जबकि ५६ जना कर्मचारी मात्रै कार्यरत रहेको उनले जानकारी दिए।
रजिष्ट्रार अधिकारले जनशक्ति अभाव भएकै कारण कानूनी ज्ञानमा पोख्त नभएका कर्मचारीहरूसँग समेत काम निकाल्नुपर्ने बाध्यता रहेको बताए।
उनका अनुसार उच्च अदालत जनकपुरमा दैनिक २० देखि २५ वटा मुद्दा दर्ता हुँदै आइरहेका छन्।