अतिरिक्त रकम मागेपछि काठमाडौंस्थित पिपुल्स डेन्टल कलेजमा अध्ययनरत् ब्याचलर अफ डेन्टल साइन्स (बिडिएस) विद्यार्थी आन्दोलनमा उत्रिएका छन्।
कलेजले तोकिएको भन्दा सात लाख रुपैयाँसम्म अतिरिक्त शुल्क मागेपछि आन्दोलन गर्नुपरेको विद्यार्थी बताउँछन्।
उक्त कलेजमा बिडिएस अध्ययनरत् २० औं ब्याच पहिलो वर्षका विद्यार्थी आइतबार आन्दोलनमै निस्केका थिए।
‘अतिरिक्त शुल्क लिन पाइँदैन, विद्यार्थीको भविष्यसँग खेलवाड बन्द गर’ भन्ने नारासहित विद्यार्थी आन्दोलनमा निस्केका थिए।
बिडिएस चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क २० लाख १९ हजार ५०० हो।
तर, कलेजले अहिले विभिन्न शीर्षकमा गरेर सात लाख रुपैयाँसम्म मागेको पीडित विद्यार्थीको भनाइ छ।
कलेजले विभिन्न बहानामा पहिले पनि शुल्क मागेको तर हिजोआज कलेज बन्द गर्ने धम्की दिएर शुल्क उठाउन खोजेको एक विद्यार्थीले बताए।
कलेजले त्रिवि रजिष्ट्रेसन शुल्क ५० हजार मागेको छ। जबकी, यो शुल्क २५ सय रुपैयाँमात्र हो।
यस्तै, त्रिवि बोर्ड शुल्क भन्दै २८ हजार मागिएको विद्यार्थीले बताए। उक्त रकम पनि २५ सय नै हो।
यस्तै, इन्टर्नसिप, आइटी, इसिए, लाइब्रेरीलगायत शीर्षकमा पनि शुल्क मागिएको छ।
‘शुल्क तिरे तिर नतिरे बन्द गर्छौं, तिमीहरूको भविष्य बिग्रेला भनी कलेज सञ्चालकले भनिरहेका छन्,’ ती विद्यार्थीले सेतोपाटीसँग भने।
उक्त कलेजमा ५० जना विद्यार्थी अध्ययनरत् छन्।
पिपुल्स डेन्टल कलेजका प्रबन्ध निर्देशक रोशन लुइँटेलले विद्यार्थी आन्दोलन गरिरहेको कुरा सत्य भएको बताए। तर, उनले शुल्कसम्बन्धी कुरामा प्रतिक्रिया दिएनन्।
‘हो, विद्यार्थी आन्दोलन गरिरहेका छन्,’ उनले भने, ‘म एक सातादेखि कार्यालयबाहिर छु।’
आफूबाहिर रहेकाले विद्यार्थीले उठाएका विषयमा जानकारी लिन सिइओ भीमबहादुर चन्दलाई सोध्न उनले अनुरोध गरे।
चन्दले आफूलाई पनि शुल्कको बारेमा जानकारी नभएको बताए।
चिकित्सा शिक्षा आयोगले तोकिएभन्दा बढी शुल्क माग गर्नु र लिनु गैरकानुनी भएकाले यसको कानुनी उपचार खोज्न विद्यार्थीलाई अनुरोध गरेको छ।
‘अतिरिक्त शुल्क मागेको वा लिएको छ भने हामीकहाँ आएर निवेदन पेश गर्न सकिन्छ। जिल्ला प्रशासन कार्यालयमा गएर निवेदन पनि दिन सकिन्छ,’ आयोग उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले भने, ‘हामीले गर्ने कारबाही हामी गर्छौं, प्रशासनले ठगीमा कारबाही गर्न सक्छ।’