भक्तपुरमा करेन्ट लागेर घरको छैठौं तलाबाट खसेर एक जनाको मृत्यु भएको छ।
मंगलबार दिउँसो पौने ३ बजे भक्तपुर नगरपालिका-१ सल्लाघारी आकाशे पुल नजिकै भरतलाल श्रेष्ठको ६ तला घरबाट लडेर एकको मृत्यु भएको हो।
सो खबर पाएपछि प्रहरीको टोली खटिएको थियो। करेन्ट लागेर छैठौं तलाबाट खस्दा सिन्धुपाल्चोक ईन्द्रावती गाँउपालिका-२ कुन्चोक घर भई भक्तपुर राधे-राधे बस्ने २० वर्षीय संजीव भारती गम्भीर घाइते भएका थिए।
उनको उपचारको लागि प्रहरीले डा. ईवामुरा अस्पताल पुर्याएको थियो। उनको उपचारको क्रममा दिउँसो ४ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले जानकारी दिए।
उनी ओएचएन एरो नेट केवलका अपरेटर हुन्। भरतलालको घरमा केवल बिग्रिएपछि उनी मर्मत गर्न गएका थिए।
उनीसँगै केवल जोड्न सिन्धुली तीनपाटन गाँउपालिका-१ घर भई भक्तपुर ठिमी बस्ने ३२ वर्षीय रोहित तामाङ पनि थिए।
रोहित केबल जोडिएको पोलमा चढेका थिए भने संजीव घरको छैंठौ तलामा थिए।
उनले केवलको लाइनलाई समातेर चेक गर्दा एक्कासी उनलाई करेन्ट लागेको गिरीले बताए। त्यसपछि उनी छैठौं तलाबाट खसेका थिए। घटना सम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।