भरतपुर महानगरले अटिजम भएका बालबालिकाको अध्ययनका लागि महानगर स्तरिय सरकारी अटिजम विद्यालय सञ्चालनमा ल्याएको छ।
महानगरले बाल मन्दिर अटिजम विशेष विद्यालय भरतपुर महानगर-१० मा स्थापना गरेको हो। यो नेपालमै पहिलो रहेको दाबी महानगरको छ।
साबिकको बाल मन्दिर स्कुललाई नारायणी नमुना माविमा गाभेर यहाँ अटिजम विशेष विद्यालय स्थापना गरिएको हो। विद्यालयको भरतपुर महानगर प्रमुख रेणु दाहालले शुक्रबार उद्घाटन गरिन्।
यहाँ अहिले १८ विद्यार्थी रहेका छन्। निकट दिनमा ४० पुग्ने अनुमान गरिएको छ। महानगरले यही वर्ष यो विद्यालयको व्यवस्थापनका लागि १८ लाख रूपैयाँ खर्च गर्ने योजनासहित विद्यालय सुधारका लागि कार्यक्रम पनि तयार गरेको थियो।
हानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले भरतपुर महानगरमा नेपालमा नै पहिलो पटक विशेष अपाङ्गता भएका विद्यार्थीका लागि छुट्टै विद्यालय स्थापना गरिएको बताए।
अहिले यहाँ शौचालय, किचन, खाना पकाउने वा खानेपानीका लागि बालमैत्री धारा जडान रङ-रोगनदेखि अन्य शैक्षिक पूर्वाधार निर्माणका लागि तत्काल १८ लाख रूपैयाँ खर्च लाग्ने अनुमान रहेको र आगामी दिनमा त्यहा सबै प्रबन्ध गरिने पौडेलले बताए।
यहाँ विद्यालय स्थापनापछि यस्ता प्रकारका बालबालिका र तिनका अभिभावकहरूका लागि धेरै फाइदा पुग्ने पौडेलले बताए।
महानगरले बालबालिकामा अटिजम र एडिएचएस जस्ता समस्या कसरी हुन्छ र यस्ता बालबालिकाको उपचार पनि प्रभावकारी रुपमा गर्न नसकिएको बताएको छ। यस्ता बालबालिकासँग २४ सै घण्टा साथमा अभिभावक रहनुपर्ने बालबालिकाकी शिक्षिका प्रमिला नेपालीले बताइन्।
यस्ता बालबालिका र तिनका अभिभावकले धेरै समस्या भोग्नु परेको भन्दै महानगरले यस्तो विद्यालय स्थापना गरेर बालबालिकाको हितमा काम गरेको उनले बताइन्।
यस्ता लक्षण भएका बालबच्चा आफ्नै सुरमा रमाउने, अन्तरक्रियामा चासो नदेखाउने, कहिले आक्रमक रूपमा प्रस्तुत हुने र कहिलेजबरजस्ती प्रतिकार गर्ने लक्षणहरू देखा पर्ने उनको भनाइ छ।
यस्ता बच्चाको प्रभावकारी उपचार अहिलेसम्म नभए पनि खानामा सुधार, केही थेरापी र व्यायाम अपनाउन सके सहज हुने मानिएको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अटिजम भएका बालबालिका र तिनका अभिभावकले भोग्नु परेको पीडा निकै दु:खदायी रहेको आफूले देखेको र अब यहाँ यो विद्यालय स्थापनापछि यसले त्यस्ता विद्यार्थीको हितका लागि धेरै ठूलो सहयोग पुग्ने उनले बताए।
मेयर दाहालले महानगरले यहाँ विद्यालय सञ्चालन गरेर अटिजम भएका बालबालिकाको अभिभावक बनेको बताइन्।
यो विद्यालय महानगरको सामुदायिक विद्यालयका रुपमा सञ्चालन हुने र अरु विद्यालयलाई भन्दा यो महानगरले विशेष रुपमा हेर्ने उनले बताइन्।
आफनो परिवारमा पनि डाउन सिन्ड्रोम भएका भान्जा रहेको र उनलाई आफूहरूले नै हुर्काएको बताउँदै मेयर दाहालले यस्ता बालबालिकाको समस्या आफूले बुझेको बताइन्।
उनले अब यसको भौतिक पूर्वाधार शैक्षिक विकासदेखि अन्य सबै खाले सेवा प्रदान गर्ने र यहाँ नर्सको दरबन्दी पनि स्थापना गरी उपचारको व्यवस्था गर्ने बताइन्।
कसरी हुन्छ अटिजम?
खाद्य र हिलिङ फुडको अवधारणा अनुसार खानामा हुने गडबढी प्रमुख कारण रहँदा शरीरलाई हानिकारक हुने जीवाणु वा केमिकल आन्द्रामा पुग्ने गर्छ।
उक्त समयमा एकातर्फ आन्द्रामा रहेका पाचन प्रक्रियामा सहयोग पुर्याउने जीवाणुहरूको नियमित कार्य प्रक्रियामा अवरोध हुँदा शरीरले उचित पोषण पाउन सक्दैन्। जसले गर्दा बच्चा निष्कृय र बिरामी हुन थाल्दछन्। त्यसले विस्तारै बच्चामा समस्या पैदा भई अटिजम हुन सक्ने अनुमान गरिएको छ।
के-के समस्या देखिन्छ?
- शब्द र साङ्केतिक रूपमा इसारा गरेर समेत भावना आदानऔप्रदानमा समस्या देखिनु वा चुस्त नहुनु
- एकाघरका परिवारका सदस्य र हेरचाह गर्ने व्यक्तिहरूसँग समेत सामाजिक र भावनात्मक रूपमा संसर्गमा आउने, जिस्कने, खेल्ने आदि गर्न नसक्ने
- अरूलाई वास्तै नगरी कहिले कुनै एकै स्थानमा लामो समय एक्लै रहने र कहिले जता मन लग्यो उतै दौडने
- आँखामा आँखा जुधाएर कुराकानी वा भावनात्मक आदान-प्रदान नगर्ने
- बोली ढिलो फुट्ने, सामान्य बच्चाहरू बोलचाल गर्ने उमेर पुगेपछि वा समय घुर्की सक्दा पनि बोलचाल सुरू नगर्ने
- बोलीचालीको भाषामा भनेको कुराको अर्थ सजिलै बुझी नहाल्ने। भनेको शब्द नबुझ्ने वा बुझ्ने शक्ति विकास नभएको
- छिटो-छिटो बोल्ने, लेख्ने त गर्ने तर के बोलेको हो वा लेखेको हो बुझ्न नसकिने।
- कान नसुन्ने जस्तो व्यवहार देखाउने
- अकारण वा सानो कुरामा पनि झट्टै उत्तेजित हुने, रिसाउने, संवेदनशील बनिदिने र अप्राकृतिक प्रतिक्रिया दिने
- दैनिक रूपमा सानो-सानो कुरामा, आफूले चाहेजस्तो नहुँदा तुरुन्तै निराश र बेखुसी बन्ने, आफ्नै बाआमाको समेत सहयोग नमाग्ने र नलिने
- बढी नै चञ्चल, नतिजा के होला भन्ने वास्ता नै नगरी बिना सोचविचार वा अत्यन्त कम सोच विचारमा आफूले देखेको वा चाहेको काम गरिहाल्ने
- सामान्य शारीरिक गतिविधिभन्दा फरक, आफ्नै शरीरलाई नै आघात हुन पनि सक्ने गरी हात बटार्ने, पञ्जाहरू तलमाथि गर्ने, थपडी मार्ने, हल्लाउने, टाउको भित्तामा ठोक्ने, खुट्टाको औंलाले मात्र हिँड्ने जस्ता गतिविधि देखाउने।