जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका एक पुरूष पक्राउ परेका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ रानागाँउका २७ वर्षीय खुमबहादुर थापालाई दाङ देउखुरी जिल्ला अदालतले २०७७ साल मंसिर २१ गते १२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो।
फैसलापछि फरार रहेका उनलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो।
फरार प्रतिवादी थापा घरमै लुकेर बसेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले सेतोपाटीलाई बताए।
थापालाई आइतबार अदालतमा उपस्थित गराइएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तानका लागि सोमबार कारागार चलान गरिएको रिजालले बताए।